अबकाे एक दशक पूर्वाधार निर्माणमा केन्द्रित : अर्थमन्त्री खतिवडा


प्रकाशित मिति : जेष्ठ ५, २०७५ शनिबार

अर्थमन्त्री युवराज खतिवडाले अबकाे एक दशक पूर्वाधार निर्माणमा केन्द्रित हुनुपर्ने बताएका छन् । मुलुकमा सरकारको स्थायित्व तथा राजनीतिक स्थिरता कायम भएकाे दाबी गर्दै उनले अबकाे एक दशक पूर्वाधार निर्माणका माध्यमबाट राष्ट्रको विकास र समृद्धिमा लगाउनुपर्ने बताएका हुन्।

‘स्टिलमिन्ट’ नामक भारतीय कम्पनीले शुक्रबारबाट आयोजना गरेको दुईदिने छड उद्याेगसम्बन्धी प्रदर्शनी तथा अन्तरक्रिया कार्यक्रममा बाेल्दै अर्थमन्त्री खतिवडाले मुलुकमा भएका खनिज तथा फलामजन्य खानीको पहिचान गरी उत्खनन गर्ने कार्यलाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिए ।

स्वदेशी कच्चा पदार्थकै प्रयोगद्वारा स्वदेशी उद्याेगलार्इ अात्मनिर्भर बनाउँदै गुणस्तरीय उत्पादन गर्न सकेमा देशको अर्थतन्त्र बलियो हुने उनकाे धारणा थियाे ।

कार्यक्रममा छड उत्पादनमा प्रयाेग हुने करिब ९० प्रतिशत कच्चा पदार्थ भारत तथा १० प्रतिशत चीनबाट आयात हुने गरेको जानकारी दिइयो । नेपालमा उत्पादन भएका छड करिब दुई दशक अगाडिसम्म तिब्बतसम्म निर्यात हुने गरेको थियाे । तर हाल उत्पादित रढ स्वदेशमा मात्र खपत हुने गरेको छ । हाल कच्चा पदार्थमा देश परनिर्भर बन्दै गएकाे छ ।

उद्योगी प्रदीपकुमार श्रेष्ठले देशको भौतिक पूर्वाधार निर्माणका लागि छड उद्योगको महत्वपूर्ण भूमिका रहेको बताए । ठूलो मात्रामा रोजगारी सिर्जना गर्ने भएकाले त्यस्ता उद्योगीलाई सरकारले बैंकिङ सुविधामा वृद्धि गर्नुपर्नेमा जोड दिए।

प्रदर्शनीमा नेपाल र भारतका गरी करीब ५० छड उद्योगका प्रतिनिधिको सहभागिता रहेको जनाएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com