रिलायन्स टाट पल्टिँदैछ अनिल अम्बानीकाे सम्पत्ति ४५ अर्बबाट सवा ३ अर्ब डलरमा खस्किँदाे


प्रकाशित मिति : जेष्ठ ४, २०७५ शुक्रबार

अम्बानी घराना भारतको एउटा यस्तो औद्योगिक घराना हो जसले देशकौंदेखि करोडौं लगानी गरेर अर्बौं नाफा कमाउँदै आएको छ।

जनजनमा विश्वास छ अम्बानीका कम्पनीमा लगानी गर्दा ढुक्कसँग नाफा हुन्छ। हुन पनि विश्वका धनाढ्यको सूचीमा धिरुभाइ अम्बानीका दुई छोराहरु मुकेश र अनिल दुवै छन्।

मुकेस भारतकै सबैभन्दा धनी व्यक्ति हुन्। भाई अनिल फाेर्ब्सको सबैभन्दा धनी व्यक्तिको सूचीमा सामेल छन्। के यस्तो घरानाको कुनै कम्पनी टाटपल्टिन सम्भव छ ? आममान्छेको दिमाग चक्कर लगाउने यो प्रश्नको जवाफ आएको छ— हो सम्भव छ।

नेशनल कम्पनी ल ट्रिब्युनल (एनसीएलटी) ले अनिल अम्बानी स्वामित्वको कम्पनी रिलायन्स कम्युनिकेशनविरुद्ध टाटपल्टिएको प्रक्रिया सुरु गर्न अनुमति दिएको छ।

धिरुभाई अम्बानीले सन् १९७७ मा भारतमा रिलायन्स टेक्स्टाइल उद्योगोगका लागि सर्वसाधारणलाई लगानीका लागि आह्वान गरेका थिए। सो आइपिओमा लगानी गर्न धेरै सर्वसाधारण तयार देखिए। त्यतिबेला भारतको अर्थव्यवस्था विदेशसम्म फैलिएको थिएन, बन्द स्थितिमै थियो। सो आईपिओ लिन सर्वसाधारणले ७ गुणा बढी मूल्य चुकाएका थिए।

सन् १९७७ मा रिलायन्समा १० हजार रुपैयाँ लगानी गरेका व्यक्ति आज करोडपतिको अवस्थामा छन्। मुकेश अम्बानीले गत वर्ष कम्पनीको ४० औं वार्षिक बैठकमा भनेका थिए, ‘सन् १९७७ मा रिलायन्स सेयरमा एक हजार रुपैयाँ लगानी गर्नेको सेयर मूल्य अहिले १६ लाख ५४ हजार पुगेको छ।’ अर्थात् १ हजार ६ सय गुणाले सेयर बजार वृद्धि भएको उनले उल्लेख गरेका थिए।

सन् २००६ मा दाजुभाई छुट्टिएपछि धिरुभाइ अम्बानीका कम्पनी भागबण्डामा गए। मुकेश अम्बानीको हिस्सामा रिलायन्स इन्डिस्ट्रिज, रिलायन्स इन्डिया पेट्रोकेमिकल्स पर्यो। अनिलले रिलायन्स कम्युनेकशन्स, रिलायन्स इनर्जी, रिलायन्स क्यापिटल, रिलायन्स नेचुरल रिसोर्सेज लिए।

दाजु मुकेसले पुरानै कम्पनी रिलायन्स ग्रुप अन्गर्तत नै कारोबार गरे। अनिलले आफ्नो स्वामित्वका कम्पनीको नाम अनिल धीरुभाई अम्बानी ग्रुप अर्थात् एडीएजीबाट कारोबार अघि बढाए।

अनिल–मुकेश प्रतिस्पर्धा

पछिल्लो समय विश्वको धनाढ्य सूचीमा रहेका यी दाजुभाइबीच सुमधुर सम्बन्ध रहेन। दाजुभाइको झगडा अदालतसम्मै पुग्याे। एक किसिमको अस्वस्थ सम्बन्ध र प्रतिस्पर्धाको अवस्था देखियो।

अनिल अम्बानी आफ्नो कारोबारको आक्रमक विस्तारतर्फ लागे। कतिपय क्षेत्रमा उनको लगानी रुखो ठाउँमा पर्याे, कतिपयमा उनले अनेकौं अप्ठ्यारा झेल्नु पर्याे। यसबाट पार पाउन एडीएजी ग्रुपलाई निकै अप्ठ्यारो परिस्थिति अाइलाग्याे।

फाेर्ब्सकाअनुसार २००७ मा अनिल अम्बानीसँग ४५ अर्ब डलरको सम्पत्ति थियो। यसमा सबैभन्दा ठूलो हिस्सा अर्थात् ६६ प्रतिशत रिलायन्स कम्युनिकेशन्सको थियो। मुकेश अम्बानी भाइभन्दा थोरै मात्र अगाडि थिए। उनीसँग ४९ अर्ब डलरको सम्पत्ति थियो। तर १० वर्ष बित्दा नबित्दै यो ग्राफमा नाटकीय परिवर्तन भएको छ।

फाेर्ब्सको २०१७ को धनाढ्य सूचीमा अनिलको सम्पत्ति घटेर सवा ३ अर्ब डलरमा झरेको छ। मुकेश अम्बानी ३८ अर्ब डलर मालिकमा सीमित भएका छन्। पूँजी बजारको क्षेत्रमा मुकेश अम्बानीले आफ्ना सानो भाई अनिललाइ निकै पछि छोडेका छन्।

सेयर बजार विश्लेषक विवेक मित्तल भन्छन्, ‘दुवै भाइबीच २००६ मा कारोबार भागबन्डादेखि नै पूँजी बजारमा धेरै दूरी बढेको छ।’ मुकेशका कम्पनीहरूकाे सेयर उकालाे लाग्दाे छ, अनिलका कम्पनीकाे सेयर ग्राफ खस्किँदाे छ। मुकेशको रिलायन्स इन्ड्रिस्टिज पूँजी बजारमा ६ गुणाले बढेर ६ लाख करोड रुपैयाँ आसपास पुगेको छ। अनिलको रिलायन्स क्यापिटल, रिलायन्स इम्फ्रा, रिलयान्स कम्युनेकसन्सको सेयरमा भारी गिरावट आएको छ। यी कम्पनीको पूँजीबजार ५० करोड रुपैयाँभन्दा तल ओर्लिएको छ।

ऋणले डुबायो

सन् २०१० सम्म अनिल अम्बानी ग्रुपको टेलिकममा पूरै भारतको १७ प्रतिशत हिस्सा थियो। त्यसपछि धेरै टेलिकम कम्पनीहरु प्रतिस्पर्धामा आए। उनीहरुबीच तीब्र प्रतिस्पर्धा सुरु भयो। यो प्राइस वारमा रिलायन्स कम्युनिकेसन्स्ले आफ्नो बजार लगातार गुमाउँदै गयो।

यही बेला कम्पनी विस्तारका लागि रिलायन्स कम्युनिकेसन्सले ऋण लियो। यसपछि रिलायन्स कम्युनेकसन्स दोहोरो मारमा पर्याे। एक, बजार हिस्सा घट्दै गयो, दोस्रो ऋणको भारी बढ्दै गयो। त्यही ऋणले कम्पनीलाई घुँडा टेकाएको हो।

सन् २०१० मा कम्पनी २५ हजार करोड रुपैयाँ ऋणमा थियो। अहिले यो रकम दुई गुणा बढी भइसकेको छ। बम्बे स्टक एक्सचेञ्जको पछिल्लो वर्षको पहिलो तीन महिनाको रिपोर्टअनुसार रिलायन्स कम्युनिकेसन्सले ४५ हजार करोड रुपैयाँ ऋण चुक्ता गर्न बाँकी छ। यसमा भारतीय बाहेक चिनियाँ वित्तिय कम्पनीबाट लिएको ऋण समेत सामेल छ।

ऋणका अलावा कम्पनी टेलिकम क्षेत्रमा आएका नयाँ प्लेयरहरु भोडाफोन, एयरटेलजस्ता प्रतिद्वन्द्वीका कारण लगातार पछि गइरहेको छ। फोरजी फ्रिक्वेन्सीबाट मात्र सेवा दिइरहेको दाजु मुकेश अम्बानीको रिलायन्स जियोले पनि बजारको ठूलो हिस्सा कब्जा गरिसकेको छ।

त्यसैले अहिले अनिल अम्बानी समूहको रिलायन्स कम्युनिकेसन्स यतिबेला टाटपल्टिन घोषित हुन बाँकी कम्पनीको सूचीमा छ। नेशनल कम्पनी ल ट्रयुबुनल अर्थात् एनसीएलटीमा ऋण असुलीका तीन निवेदन परेका छन्। जसलाई एनसीएलटीले स्वीकारेर टाटपल्टिने प्रक्रियाका लागि निर्देशन दिएको छ।

यसमध्ये स्वीडेनको मोबोइल इक्विपमेन्ट उत्पादक कम्पनी इरिक्सन तथा उ अन्तर्गतका अरु सहयोगी कम्पनी पनि छन्। इरिक्सनको दाबी छ कि रिलायन्स कम्युनिकेसन्ससँग उसले १ हजार १५० करोड रुपैयाँ उठाउन बाँकी छ। रिलायन्स कम्युनिकेसन्सले गत वर्ष आफ्नो वसालतमा करिब ४५ हजार करोड रुपैयाँ ऋण रहेको उल्लेख गरेको थियो।

टाट पल्टिने प्रक्रियामा जान ट्रिबुनलले दिएको निर्देशनको अनिल अम्बानी समूहले विरोध गरेको छ। उसले आफू ऋण तिर्ने प्रक्रियामा रहेको उल्लेख गरेको छ। ऋण तिर्न कम्पनीकाे स्वामित्वकाे बेचबिखन गर्ने उसकाे तयारी छ। कम्पनी वायरलेस स्पेक्ट्रम फोरजी छोडेर अरु कारोबार बिक्री गर्न छलफल भइरहेकाे उल्लेख गरेकाे छ। -एजेन्सी

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com