तातोपानी कुण्डको आम्दानीबाट शिक्षकलाई तलब


प्रकाशित मिति : जेष्ठ ३, २०७५ बिहीबार

प्राकृतिक चिकित्सालयका रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका-४ सिंगातातोपानीमा रहेको तातोपानी कुण्डको आम्दानी यहाँको सरस्वती माविका शिक्षक/शिक्षिकालाई तलबमा खर्च हुँदै आएको छ ।

म्याग्दी नदीको किनारमा रहेको कुण्डमा बिरामीले स्नान गरेबापत लिइने शुल्कले शिक्षकको तलब, भौतिक पूर्वाधारलगायत विभिन्न शैक्षिक गतिविधिमा खर्च गर्ने गरिएको हो ।

समुदायको सक्रियतामा स्थापना भएको विद्यालयमा आधारभूत र माध्यमिक तहका शिक्षकलाई वार्षिक रु १६ लाख तलब सुविधामा खर्च गर्ने गरिएको तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्रमान शाक्यले बताउनुभयो । “तातोपानीको कमाइको ठूलो हिस्सा शैक्षिक क्षेत्रमा खर्च गर्ने गरिएको छ । गुणस्तरीय शिक्षाका लागि तलबबाहेक पनि खर्च गर्ने गरेका छौँ”, शाक्यले भन्नुभयो ।

उहाँले १–१० मा ३०५ जना विद्यार्थी अध्ययनरत विद्यालयमा निजी स्रोतका १० जना शिक्षकको तलबभत्तामा २०६६ सालदेखि निरन्तर कुण्डको सहयोगमा तलब खुवाउँदै आएको जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

हरेक वर्ष सरकारले तोकेको तलबभत्ताका साथै खेलकूद मैदान खरिदमा रु २३ लाख, भवन निर्माणमा समेत कुण्डले सहयोग गरेको प्रधानाध्यापक सुरतबहादुर बानियाँले बताउनुभयो । “मावि तहमा सरकारी दरबन्दी छैन । कुण्डको सहयोगले नै अहिलेसम्म सहज भएको छ”, बानियाँले भन्नुभयो ।

“विद्यालयलाई तातोपानी कुण्ड बरदान सावित भएको छ”, प्रअ बानियाँले भन्नुभयो । भविष्यमा थप भौतिक पूर्वाधार विस्तार, दश जोड दुई कक्षा सञ्चालनलगायतका योजनामा समेत कुण्डबाट सहयोगको प्रतिबद्धता रहेको बताउनुभयो । राक्से, तातोपानी, पखेर, सिमलचौरलगायत आसपासका क्षेत्रका विद्यार्थी अध्ययनरत विद्यालय जिल्ला सदरमुकाम बाहिर समुदायको आम्दानीले सञ्चालनमा रहेको नमूना विद्यालयको रुपमा समेत चिनिन्छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com