निर्वाचन हुन नदिने संघीय गठबन्धनको निर्णय


प्रकाशित मिति : कार्तिक ११, २०७३ बिहीबार

संघीय गठबन्धनले कुनै पनि निर्वाचन हुन नदिने निर्णय गरेको छ । संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यालयमा बिहीबार बसेको गठबन्धनको केन्द्रीय आन्दोलन मूल परिचालन समितिको बैठकले सीमांकन तथा राज्य पुनर्संरचनाको टुंगो नलागेसम्म कुनै पनि निर्वाचन हुन नदिने निर्णय गरेको हो ।

निर्णयमा भनिएको छ ‘स्थानीय तह पुनर्संचरना आयोगद्धारा गरिएका काम कारबाही गठबन्धनलाई कदापि पनि मान्य छैन । जबसम्म, प्रदेशहरुको सीमांकन र सैद्धान्तिक रुपमा स्थानीय तह प्रदेश मातहत् रहने संविधानमा प्रावधान सुनिश्चित नहुञ्जेलसम्म कुनै पनि प्रकारको राज्यको पुनर्संचरना गठबन्धनलाई मान्य नहुने र सीमांकन तथा राज्य पुनर्संरचनाको टुंगो नलागेसम्म कुनै पनि निर्वाचन हुन नदिने गठबन्धनले निर्णय गरेको छ ।’

गठबन्धनका संयोजक उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकले तीन बुँदे निर्णय गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीमाथि महाअभियोग लगाउँदा सरकारलाई समर्थन गरेका पक्षसँग कुनै सल्लाह नगरिएको भन्दै स्पष्टता आएपश्चात् मात्र आफ्नो धारणा सार्वजनिक गर्ने निर्णय गरेको छ । कार्कीको नियुक्ति किन गरिएको थियो र अहिलेको महाअभियोग के हो त्यो स्पष्ट हुनुपर्ने गठबन्धनको माग छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com