पासाङल्हामु राजमार्ग सुधारले गति लियो


प्रकाशित मिति : बैशाख २८, २०७५ शुक्रबार

पासाङल्हामु राजमार्ग सुधार कार्यलाई तीव्रता दिइएको छ । वर्षा सुरु हुनु अघि नै निर्माण कार्य सम्पन्न गर्नका लागि कामलाई तीव्रता दिइएको हो ।

राजमार्गको रसुवाखण्डको बेत्रावतीदेखि स्याफ्रुसम्मको सडकखण्डमा खाल्डाखुल्डी पुर्ने, ढलान गर्ने, कज्वे मर्मत गर्ने, नाला मर्मत गर्ने, पिच गर्ने र साँघुरो सडकलाई चौडा बनाउने कार्य भइरहेको डिभिजन सडक कार्यालय नुवाकोटले जानकारी दिएको छ ।

गएको वर्ष बजेट ढिलो आउँदा सडक मर्मत तथा सुधारको कार्य प्रभावित भएको थियो । यो वर्ष समयमा नै बजेट आएको र मौसमले साथ दिएमा काम सम्पन्न हुने डिभिजन प्रमुख निरज शाक्यले बताउनुभयो ।

असारभित्रै कार्य सम्पन्न गर्नेगरि सडक सुधार तथा मर्मत कार्यलाई तीव्रता दिइएको उहाँको भनाई छ । ‘हामीले यो वर्षका लागि बनाएको योजना अनुसार काम गरिरहेका छौँ, डिभिजन प्रमुख शाक्यले भन्नुभयो, यहि गतिमा काम हुन सकेमा निर्माण सम्पन्न हुनेमा ढुक्क हुन सकिन्छ ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

२०७१ सालमा भत्किएको सोलेमा रहेको कज्वेको पुनर्निर्माण यो वर्ष सुरु गरिएको छ । कज्वेको पुनर्निर्माण हुन नसक्दा चालक, सहचालक तथा यात्रुले जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी जोड्ने सडक भए पनि समयमा काम नहुँदा यात्रुले सास्ती खेप्दै आएका थिए ।
पहिरो गएको क्षेत्रमा सोलिङ गर्ने र खाल्डाखुल्डी पुर्ने काम अन्तिम चरणमा पुगेको कार्यालयले जनाएको छ ।

सडक मर्मत तथा सुधारका लागि ६ करोड १५ लाख बजेट :

पासाङल्हामु राजमार्ग सुधारका लागि ६ करोड १५ लाख वजेट रहेको डिभिजन सडक कार्यालय नुवाकोटले जनाएको छ ।

सडक मर्मत तथा सुधार गर्नका लागि गएको वर्षको बाँकी दुई करोड ८५ लाख र यो वर्षको लागि थप भएर आएको तीन करोड ३० लाख बजेट रहेको डिभिजन प्रमुख शाक्यले बताउनुभयो । गएको वर्ष बजेट ढिलो आउँदा काम हुन नसकेर बजेट फ्रिज हुन पुगेको थियो ।

यो वर्ष बजेट फ्रिज हुन नदिन कार्यालयले कार्यलाई तीव्रता दिएको छ ।

रसुवामा सडकको साइड कार्यालय खोलिने :
अन्तर्राष्ट्रिय नाका रसुवागढी जोड्ने पासाङल्हामु राजमार्गस्थित रसुवाखण्डको प्रत्यक्ष निगरानी गर्नका लागि डिभिजन सडक कार्यालय नुवाकोटले रसुवामा साइड अफिस खोल्ने तयारी गरेको छ ।

राजमार्गमा आउने समस्याको तत्काल समाधान गर्नका जेठको पहिलो हप्तासम्ममा सदरमुकाम धुन्चेमा साइड अफिस खोल्ने तयारी थालिएको हो । वर्षायाममा राजमार्गको रसुवा खण्डमा बढी समस्या आउने गरेको छ ।

वर्षाको समयमा जिल्लाको बेत्रावतीदेखि टिमुरेसम्म आधा दर्जन स्थानमा पहिरोले बाटो अवरुद्ध हुँदै आएको छ । जिल्लामा कार्यालय स्थापना भएपछि कार्य गर्न सहज हुने रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताउनुभयो ।

‘सडक डिभिजनको कार्यालय जिल्लामा नहुँदा चालक र यात्रुले निकै सास्ती खेप्नु परेको रहेछ, प्रमुख जिल्ला अधिकारी पौडेलले भन्नुभयो, हामीले जिल्लामा कार्यालय स्थापनाका लागि समन्वय गरिरहेका छौँ ।’

वर्षायाममा नियमित सडक सञ्चालन हुने :
वर्षाको समयमा राजमार्ग नियमित सञ्चालन गर्नका लागि कार्यालयले पूर्वतयारी थालेको छ । जेठदेखि भदौ अन्तिमसम्म नियमित यातायात सञ्चालनका लागि पहिरो गएको स्थानहरु नजिकै एक्साभेटर र लोडर राख्ने तयारी गरिएको छ ।

वर्षाको समयमा राजमार्गको राम्चे, मुलखर्क, खोप्पाङभिर, सानोभार्खु, लिङलिङ, फ्याङ्लुङ र घट्टेखोला क्षेत्रमा पहिरोले सडक अवरुद्ध हुने गरेको छ । जिल्लाको राम्चेदेखि स्याफ्रुसम्म कार्यालयले र स्याफ्रुभन्दा माथिको क्षेत्रमा जलविद्युत आयोजनाहरुले स्काभेटर र लोडर राख्ने तयारी गरेका छन् ।

वर्षायाममा सडक बन्द हुन नदिनका लागि हेबी इक्युपमेन्ट डिभिजनसँग आवश्यक सामग्री माग गरिएको डिभिजन प्रमुख शाक्यले बताउनुभयो । ट्रक, स्काभेटर र लोडर गरी ६ वटा सामग्री माग गरिएको उहाँले जानकारी दिनुभयो ।

‘पासाङल्हामु राजमार्गमा नियमित सडक सुचारु गर्नका लागि डिभिजनसँग आवश्यक सामग्री माग गरेका छौँ, उहाँले भन्नुभयो, वर्षा अघि नै ती सामग्री सम्बन्धित स्थानमा पुर्याउँछौँ ।’

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com