ट्रम्पकालमा नेपालीहरुलाई देशनिकाला गर्दा अमेरिकी सरकारको १० मिलियन डलर खर्च?


प्रकाशित मिति : माघ ८, २०८२ बिहीबार

अमेरिकी सरकारको डिपोर्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुशार एकजना व्यक्तिलाई देशनिकाला गर्न लाग्ने औषत खर्च रहेको छ १८ हजार २ सय ४५ डलर । यो रकम अमेरिकी करदाताको रकमबाटै खर्च गरिन्छ । यो औषत हेर्दा ट्रम्पकालमा नेपालीहरुलाई देशनिकाला गर्दा अमेरिकी सरकारको झण्डै १० मिलियन डलर खर्च भएको देखिन्छ । किनभने ट्रम्प प्रशासनले १ बर्षको अवधिमा ५८३ जना नेपालीहरुलाई अमेरिकाबाट देशनिकाला गरिसकेको छ ।

खासगरी नेपालीलाई नै देशनिकाला गर्नका लागि लाग्ने खर्चको औषत विवरण उपलब्ध छैन । यद्यपी अमेरिकाबाट नेपाल देशनिकाला गर्दा निकै लामो दुरी भएकाले यो रकम होमल्याण्ड सेक्युरिटीले निकालेको औषतभन्दा बढी हुनसक्ने अनुमान गरिएको छ । यो रकमले व्यक्ति पक्राउ गर्न, हिरासतमा राख्न र देश निकाला गर्न लाग्ने कुल खर्चलाई प्रतिनिधित्व गर्छ।

एजेन्टहरूले व्यक्ति खोज्ने, पक्राउ गर्ने, स्थानीय जेल वा अन्य ठाउँबाट ट्रान्सफर गर्ने खर्चमा कर्मचारीको समय, सवारी साधन आदि पर्छन्। त्यस्तै हिरासतमा सबैभन्दा ठूलो हिस्सा खर्च हुन्छ हुन्छ। व्यक्ति आइसको हिरासतमा राख्दा खाना, आवास, चिकित्सा सेवा, सुरक्षा स्टाफ आदि लाग्छ। हालको औसत दैनिक खर्च १५० देखि २ सय डलर भन्दा बढी हुनसक्छ । औसत हिरासत अवधि ४४ देखि ४७ दिनसम्म हुन्छ। यसले कुल लागतको ठूलो भाग ओगट्छ।

इमिग्रेसन अदालतमा सुनुवाइ, देशनिकालाको आदेश जारी गर्ने, आइसका वकिलहरूको खर्च, प्रशासनिक काममा पनि ठूलो रकम लाग्छ । त्यस्तै देश निकाला गर्दा चार्टर वा कमर्शियल उडानमा पनि धेरै रकम खर्च हुन्छ । टाढाका देशहरूका लागि यो प्रतिव्यक्ति ३ हजारडलरसम्म हुन सक्छ। नेपालीहरुलाई देशनिकाला गर्दा टाढाको देशमा गणना गरिन्छ भने अधिकतम रकम खर्च हुने गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पहिलेका वर्षहरूमा यो लागत १२ हजार डलरसम्म थियो तर हालैको विस्तारित हिराशतले यसलाई बढाएको छ। केही स्वतन्त्र विश्लेषणहरूले यो लागत कतिपय व्यक्तिका सन्दर्भमा १ लाख डलरसम्म समेत रहेको विश्लेषण गर्दै आएका छन् । किनभने कतिपय व्यक्तिलाई लामो समयसम्म हिराशतमा राखिएको हुन्छ ।

मानवतस्करलाई ७० हजारडलरसम्म बुझाएर मेक्सिकोबाट गैरकानूनी रुपमा अमेरिका प्रवेश गर्ने नेपालीहरुको संख्या ठूलो छ । यसरी अमेरिका प्रवेश गर्नेहरुको व्यक्तिगत आर्थिक भारका अतिरिक्त अमेरिकी सरकारले उनीहरुलाई देशनिकाला गर्दा लाग्ने सरकारी भारसमेत निकै ठूलो रहेको छ । हाल अमेरिकी अध्यागमन अदालतमा झण्डै १० हजार नेपालीका एसाइलम पेन्डिङ रहेकोमा अधिकांश मेक्सिकोबाट विनाभिसा प्रवेश गर्नेहरु नै रहेका छन् ।

बाइडेन प्रशासनको पूरै अवधिमा झण्डै ९ हजार नेपालीहरु भिसा बिना अमेरिका प्रवेश गरेको तथ्यांक सीबीपीसँग रहेको छ । तर उक्त अवधिमा सीबीपीको नजरमा नपरिकनै अमेरिका प्रवेश गरेका नेपालीहरुको संख्या समेत उल्लेख्य रहेको छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com