अब भारत जान नेपालीलाई भिसा अनिवार्य


प्रकाशित मिति : बैशाख २७, २०७५ बिहीबार

भारतले नेपाल र भारतको खुला सीमाना तथा एकअर्काका नागरिकले स्वतन्त्र आवागमनको पद्धतिलाई एकपक्षीय रुपमा आंशिक अंकुश लगाएको छ। भारतको केन्द्रीय गृह मन्त्रालयको निर्णयको हवाला दिँदै एयर इन्डियाले जारी गरेको सूचनामा चीन, हङकङ, मकाउ, पाकिस्तान र मालदिभ्स हुँदै भारत प्रवेश गर्ने नेपालीसँग अनिवार्य भारतीय भिसा हुनुपर्ने उल्लेख छ। नेपालीलाई लगाइएको यो बन्देज भुटानीहरुमाथि पनि लागू हुनेछ। एयर इन्डियाले सबै एयरलाइन्सहरुलाई भारतीय भिसा नभएका नेपाली तथा भुटानीहरुलाई यात्राबाट रोक लगाउन निर्देशन दिएको छ।

खुला सीमाना र स्वतन्त्र आवतजावतको पद्धतिलाई सिद्धान्तअनुरुप सन् १९९९ डिसेम्बरमा काठमाडौँबाट उडेको इन्डियन एयरलाइन्सको विमान अपहरण भएपछि नेपालीहरुको हवाईयात्राका लागि पासपोर्ट वा नागरिकता अनिवार्य गरिएको थियो। र, विगत पाँच वर्षदेखि नेपाली पासपोर्टमा भारतीय इमिग्रेसन कार्यालयले छाप लगाउँदै आएको छ।चीन, पाकिस्तान, मालदिभ्सलगायतका मुलुकहरु हुँदै भारत प्रवेश गर्ने नेपालीहरुलाई भिसा अनिवार्य गरेर भारतले स्वतन्त्र आवागमनको सिद्धान्तलाई थप नियन्त्रित गरेको छ। समाचारपत्रमा खबर छ ।

एयर इन्डियाको सर्कुलरमा यी मुलुक हुँदै यात्रा गरेका नेपालीहरुसँग भिसा नभएको अवस्थामा कुनै नेपालीलाई यात्रा गराएका त्यसको जिम्मेवारी सम्बन्धित एयरलाइन्स हुने र तिनीहरुलाई दण्डित गरिने चेतावनी पनि दिइएको छ। यो निर्णय कहिलेदेखि लागू हुने भन्ने भने उक्त सर्कुलरमा उल्लेखित नहुँदा यो तत्काल प्रभावकारी भएको अर्थ लगाइएको छ। पत्रमा विदेशीहरुको दर्ता र नियन्त्रणसम्बन्धी कार्यालय एफआरआओका विभिन्न कार्यालयहरुलाई यो निर्देशन कठोरताका साथ कार्यान्वयन गर्न निर्देशन पनि दिइएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com