अध्यागमन बन्दीहरूको स्थान लुकाउँदै आइस: वकिल र आफन्तलाई भेटघाटमा समस्या


प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार

फोटो: होमल्याण्ड सेक्युरिटी

अमेरिकी आइसले अन्तिम देशनिकालाको आदेश पाएका हजारौँ हिरासतमा रहेका व्यक्तिहरूलाई कहाँ राखिएको छ भन्ने विवरण सार्वजनिक रूपमा उपलब्ध गराउन छाडेको छ। बिनाकुनै औपचारिक सूचना गरिएको यस निर्णयले वकिल तथा आफन्तहरूलाई हिरासतमा रहेका आफ्ना मानिसहरूको स्थिति र स्थान पत्ता लगाउन निकै कठिन बनाएको छ।

सम्बन्धित वर्तमान तथा पूर्व अधिकारीहरूका अनुसार, सेप्टेम्बर १५ देखि आइसले ती व्यक्तिहरूको विवरण आफ्नो अनलाइन प्रणालीबाट हटाएको हो। धेरै अध्यागमन वकिलहरूले पनि आफ्ना ग्राहकहरू उक्त प्रणालीबाट अचानक गायब भएको पुष्टि गरेका छन्।

यो कदमले डोनाल्ड ट्रम्पको दोस्रो राष्ट्रपति कार्यकालमा अध्यागमन क्षेत्रमा अपनाइएको कडा नीतिको स्पष्ट झलक दिन्छ। अनलाइन प्रणालीबाट नाम र स्थान हटाइएपछि हजारौँ व्यक्तिका आफन्त र कानुनी प्रतिनिधिहरूका लागि उनीहरूसँग सम्पर्क कायम राख्न कठिन भएको छ।

अध्यागमन वकिलहरूका अनुसार यस अभ्यासले अन्तिम समयमा गर्न सकिने कानुनी प्रयास वा पुनरावेदनलाई कठिन बनाउँदै देशनिकाला प्रक्रियालाई तीव्र पार्न सक्छ। ‘युसी बर्कले’ र ‘युसिएलए’को ‘डिपोर्टेसन डाटा प्रोजेक्ट’ अनुसार जुलाई महिनामा मात्रै आइसको नियन्त्रणमा आएका करिब १६,००० व्यक्तिहरू अन्तिम देशनिकालाको आदेश पाएका समूहमा थिए।

स्रोतहरूका अनुसार यो नयाँ अभ्यास क्यालिफोर्नियाको एडेलान्टोस्थित हिरासत केन्द्र, तथा मिनियापोलिस, न्युयोर्क सहर र शिकागोका केही अस्थायी केन्द्रहरूमा भने लागू भएको छैन। हिरासतसम्बन्धी अदालतको पूर्वआदेशका कारण आइसले ती केन्द्रहरूमा ल्याइएका व्यक्तिहरूको जानकारी तुरुन्त अनलाइन प्रणालीमा अध्यावधिक गर्नुपर्ने कानुनी बाध्यता छ।

अमेरिकी अध्यागमन वकिल संघका वरिष्ठ निर्देशक ग्रेग चेनका अनुसार बिनाकुनै स्पष्टीकरण प्रणालीबाट नाम हटाइँदा परिवारहरू आफ्ना प्रियजन देशनिकाला भइसकेको हो कि भन्ने आशङ्काले त्रसित बनेका छन्। वकिल र ग्राहकबीचको सम्बन्ध र कानुनी संवादमा यसले गम्भीर बाधा पुर्‍याएको छ।

अध्यागमन अदालतबाट अन्तिम देशनिकालाको आदेश पाएका व्यक्तिहरूसँग पनि मुद्दा पुनः दोहोर्‍याउन माग गर्ने वा गैरकानुनी थुनाविरुद्ध बन्दी प्रत्यक्षीकरण रिट दायर गर्ने अधिकार रहन्छ। तर, स्थान नै अज्ञात हुँदा यस्ता कानुनी ढोकाहरू बन्द हुने जोखिम बढेको छ।

आइसले सन् २०१० देखि हिरासतमा रहेका व्यक्तिहरूको खोजीका लागि यो अनलाइन प्रणाली सुरु गरेको थियो। यसअघि आफन्त र वकिलहरूले व्यक्ति कहाँ छन् भनी थाहा पाउन प्रत्यक्ष रूपमा कार्यालय वा केन्द्रहरूमा फोन गर्नुपर्ने बाध्यता थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com