फैलँदै व्यावसायिक तरकारी खेती
प्रकाशित मिति : बैशाख २२, २०७५ शनिबार
वैशाख २२, ललितपुर । एक दशक पहिलेसम्म काठमाडौं उपत्यका र आसपासका जिल्लामा सीमित व्यावसायिक तरकारी खेती पछिल्ला वर्षमा धेरै जिल्लामा फैलन थालेको छ ।
व्यावसायिक तरकारी खेतीमा धेरै जिल्लाका धेरै किसान आबद्ध हुँदा देश तरकारीमा आत्मनिर्भर हुने बाटोमा लागेको नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० अन्तर्गतको तरकारी विकास निर्देशनालयले जनाएको छ ।
सहरीकरण बढिरहेका जिल्लामा तरकारी खेती बढिरहेको निर्देशनालयमा कार्यरत वरिष्ठ तरकारी विकास अधिकृत खेमराज जोशीले बताए । एक दशक पहिलेसम्म काभ्रे, धादिङ, चितवन जिल्लामा तरकारी खेती सीमित थियो । सहरीकरण भएका जिल्लामा बजार पाइने हुनाले तरकारी खेती फैलिरहेको उनको भनाइ छ ।
यातायात सुविधा भएको र बजारनजिक भएका ठाउँमा तरकारी खेती गर्दा किसानले बढी फाइदा लिन सक्ने उनको भनाइ थियो । नेपालका झन्डै ५५ जिल्लामा तरकारी खेतीको सम्भावना रहेको उनको भनाइ छ ।
पहिले थोरै संख्यामा तरकारी खेती गर्ने किसान थिए तर उनीहरूले पर्याप्त फाइदा लिन सकेका थिएनन् । तरकारी खेतीमा युवा र शिक्षित वर्गको आकर्षण यो एक दशकमा बढेको छ । वरिष्ठ तरकारी विकास अधिकृत जोशीले भने, ‘अध्ययन गरेर यस क्षेत्रमा आएका र अहिले पनि प्रविधिको प्रयोग गर्ने र बजारको मागअनुसार फलाउने किसानले बढी फाइदा लिएका छन् ।’ कृषिका विभिन्न क्षेत्रमध्ये तरकारी खेतीले छोटो समयमा फड्को मारेको बताए । अहिले इलाम, धनकुटा, दोलखा, मकवानपुर, सर्लाही, रुपन्देही, कैलाली, बर्दिया, दाङलगायतका जिल्लामा व्यावसायिक तरकारी खेती फैलिएको छ । रासस