भान्सको स्पष्टीकरण: “बुबाले छोडेर भागेपछि आइसले बालकलाई सुरक्षित राखेको हो, पक्राउ गरेको होइन”


प्रकाशित मिति : माघ ८, २०८२ बिहीबार

अमेरिकामा आप्रवासी विरुद्धको कारबाहीका क्रममा पाँच वर्षीय एक बालकलाई नियन्त्रणमा लिइएपछि मिनेसोटामा विवाद चुलिएको छ। अमेरिकी ‘इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट’ (आइस) का अधिकारीहरूले एक कारबाहीका क्रममा ती बालकलाई नियन्त्रणमा लिएको विद्यालय प्रशासन र परिवारका वकिलले बताएका छन्।

पूर्व-प्राथमिक कक्षामा अध्ययनरत लिअम रामोस आफ्ना बुबा एड्रियन अलेक्जेन्डर कोनेजो आरियाससँग घरको ‘ड्राइभवे’मा रहेका बेला आइस एजेन्टहरूले उनीहरूलाई रोकेका थिए। यद्यपि, अमेरिकी ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ (डीएचएस) ले भने बालकलाई लक्षित नगरिएको दाबी गरेको छ।

डीएचएसले सामाजिक सञ्जाल ‘एक्स’मा एक वक्तव्य जारी गर्दै आइसले कुनै बालकलाई लक्षित नगरेको प्रस्ट पारेको छ। विभागले बालकका बुबा “अवैध आप्रवासी” भएको र आइस एजेन्टहरू आएको देखेपछि उनले बालकलाई “छोडेर भागेको” दाबी गरेको छ।

यता, कोलम्बिया हाइट्स पब्लिक स्कुल्सकी सुपरिन्टेन्डेन्ट जेना स्टेनभिकले भने पाँच वर्षीय बालकलाई नियन्त्रणमा लिने कार्यको कडा आलोचना गरेकी छन्। आइसले भने बालकलाई औपचारिक रूपमा पक्राउ नगरिएको जिकिर गरेको छ। बुबाले छोडेर भागेपछि अत्यधिक चिसोबाट बचाउन बालकको सुरक्षा सुनिश्चित गरिएको उसको भनाइ छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आइस अधिकारीहरूका अनुसार, उनीहरूले परिवारका सदस्यहरूलाई घरभित्रबाट बालकलाई लिन आग्रह गरेका थिए, तर उनीहरूले अस्वीकार गरे। बुबाले नै बालक आफूसँगै रहोस् भन्ने इच्छा व्यक्त गरेको आइसको दाबी छ।

प्रत्यक्षदर्शीले खिचेको तस्बिरमा लिअम रामोस खरायो आकारको टोपी लगाएर बाहिर उभिएको देखिन्छ, जहाँ एक अधिकारीले उसको झोला समातेका छन्।

परिवारका वकिल मार्क प्रोकासका अनुसार, लिअम र उनका बुबालाई हाल टेक्सासको सान एन्टोनियोस्थित हिरासत केन्द्र मा राखिएको छ। उनीहरू सन् २०२४ मा इक्वेडरबाट अमेरिका आएर शरण मागेका व्यक्ति हुन्।

विद्यालय प्रशासनका अनुसार, आइस एजेन्टले बालकलाई घरको ढोका ढकढक्याएर भित्र कोही छ कि छैन भनेर हेर्न लगाएका थिए। यो घटना बालक भर्खरै प्रि-स्कुलबाट घर फर्किएको समयमा भएको हो।

मिनेसोटामा जारी इमिग्रेशन कारबाहीको विरोध भइरहँदा अमेरिकी उपराष्ट्रपति जेडी भान्सले आइसको बचाउ गरेका छन्। उनले भने, “बुबा भागेपछि आइससँग अर्को विकल्प थिएन। के उनीहरूले पाँच वर्षीय बच्चालाई चिसोमा मर्न दिनु पर्थ्यो र ? “

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com