आइसको कारबाहीविरुद्ध मिनेसोटामा हडताल : ‘काम नगर्ने, विद्यालय नजाने, किनमेल नगर्ने’


प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार

तस्वीर : केरेम युसेल/एपी- रासस

अमेरिकाको मिनेसोटा राज्यमा संघीय आप्रवासन निकाय इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)को व्यापक कारबाहीविरुद्ध शुक्रबार एक असाधारण र शक्तिशाली आन्दोलन सुरु भएको छ। समुदायका अगुवा, धार्मिक नेताहरू र श्रमिक संघहरूको आह्वानमा “काम नगर्ने, विद्यालय नजाने, किनमेल नगर्ने” आर्थिक ब्ल्याकआउटसहितको विरोध प्रदर्शन गरिएको हो।

यस आन्दोलनलाई “सत्य र स्वतन्त्रताको दिन”नाम दिइएको छ। मिनियापोलिसमा यसै महिनाको सुरुमा एक महिला रेनी गुडको संघीय आप्रवासन अधिकारीद्वारा गोली हानी हत्या भएपछि आन्दोलनले थप उग्र रूप लिएको हो।

आन्दोलनकारीहरूले चार प्रमुख माग अघि सारेका छन् । आइसले मिनेसोटा राज्य तुरुन्त छोड्नुपर्ने, रेनी गुडको हत्या गर्ने अधिकारीलाई कानुनी कारबाहीमा ल्याइनुपर्ने, आइसका लागि थप संघीय बजेट बन्द गरिनुपर्ने र मानव अधिकार र संविधान उल्लङ्घनको आरोपमा आइसमाथि स्वतन्त्र छानबिन गरिनुपर्ने उनीहरुको माग छ ।

ऐक्यबद्धता जनाउँदै मिनेसोटाका दर्जनौँ स्थानीय व्यवसायहरूले एकदिनका लागि सेवा बन्द गरेका छन्। मिनियापोलिस सिटी काउन्सिलले आन्दोलन र आम हडताललाई औपचारिक समर्थन दिएको छ। आन्दोलनको मुख्य कार्यक्रमका रूपमा दिउँसो २ बजे डाउनटाउन मिनियापोलिसमा विशाल मार्च आयोजना गरिएको छ।

मिनेसोटा क्षेत्रीय श्रमिक महासंघकी अध्यक्ष चेल्सी ग्लाउबिट्ज गाबिउ भन्छिन्, “हामी चिसोसँग अभ्यस्त छौँ। मौसम जस्तोसुकै भए पनि हामी सडकमा उत्रिन्छौँ। तर यो केवल मार्च होइन, ऐक्यबद्धताका व्यक्तिगत कथाहरू पनि महत्त्वपूर्ण छन्।”

मिनियापोलिसकी एक बालसुरक्षा (चाइल्डकेयर) कामदारले, आप्रवासी परिवारमाथि प्रतिशोध पर्न सक्ने डरले नाम गोप्य राख्दै, परिवारहरूको पूर्ण समर्थन पाएपछि सेवा बन्द गरेको बताइन्। उनले भनिन्, “डरको वातावरण हुँदाहुँदै पनि परिवारहरू आन्दोलनको पक्षमा उभिए। यो साँच्चिकै सामूहिक साहस थियो।”

अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले पछिल्ला ६ हप्तामा मिनेसोटामा ३,००० आप्रवासी पक्राउ गरिएको दाबी गरेको छ। ट्रम्प प्रशासनले ३,००० आप्रवासन अधिकारी राज्यमा पठाएपछि सम्भावित अवस्थालाई ध्यानमा राख्दै १,५०० सैनिकलाई तयारी अवस्थामा राखिएको छ।

डिपार्टमेन्टले आन्दोलनको आलोचना गर्दै यसलाई “सार्वजनिक सुरक्षाविरुद्ध” भन्दै प्रतिक्रिया दिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com