अमेरिकामा भीषण हिमपातको चेतावनी: न्यू जर्सी र न्यूयोर्कमा ‘संकटकाल’ घोषणा, नेशनल गार्ड परिचालन
प्रकाशित मिति : माघ ९, २०८२ शुक्रबार
अमेरिकाको ठूलो हिस्सामा यस साताको अन्त्यमा भीषण हिमपात हुने पूर्वानुमानसँगै स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन थालेका छन्। मौसमविद्हरूका अनुसार यो हालसम्मकै ठूलो हिमपातमध्येको एक हुन सक्ने देखिएपछि न्यू जर्सी र न्यूयोर्कका गभर्नरहरूले राज्यहरूमा संकटकाल घोषणा गरेका छन्।
न्यूयोर्क शहर, हडसन भ्याली र न्यू जर्सीका अधिकांश भागमा ८ देखि १२ इन्चसम्म हिउँ पर्ने प्रारम्भिक प्रक्षेपण गरिएको छ। कतिपय स्थानमा १४ इन्चसम्म हिउँ जम्न सक्ने र दृश्यता शून्य हुने “व्हाइट-आउट” स्थिति सिर्जना हुन सक्ने चेतावनी दिइएको छ। आइतबार बिहानैदेखि सुरु हुने यो हिमपात सोमबार बिहानसम्म जारी रहने र त्यसपछि झण्डै एक हप्तासम्म अत्यधिक चिसो कायम रहने अनुमान छ।
न्यू जर्सीकी गभर्नर मिकी शेरिलले २१ वटै काउन्टीमा संकटकाल लागू गर्दै आइतबार बिहानैदेखि प्रमुख राजमार्गहरूमा ठूला ट्रक, ट्रेलर र मोटरसाइकल चलाउन प्रतिबन्ध लगाएकी छिन्। “यो सामान्य तूफान होइन, यो विगत एक दशककै खराब हुन सक्छ,” गभर्नर शेरिलले भनेकी छिन्।
न्यूयोर्ककी गभर्नर क्याथी होकुलले तूफानको सामना गर्न र उद्धार कार्यका लागि ‘नेशनल गार्ड’ लाई तयारी अवस्थामा राख्न निर्देशन दिएकी छिन्। गभर्नर होकुलले राज्यको कुनै पनि कुना “प्रकृतिको क्रोध” बाट अछुतो नरहने बताएकी छिन्। न्यूयोर्क शहरमा फेब्रुअरी ३ का लागि तय गरिएको विशेष चुनावका लागि आइतबार हुने भनिएको प्रारम्भिक मतदान स्थगित गरिएको छ।
न्यूयोर्कका मेयर जोहरान मामदानीले नागरिकहरूलाई आइतबार घरभित्रै बस्न र सडकमा ननिस्कन आग्रह गरेका छन्। विद्यालयहरूको हकमा, सोमबार भौतिक उपस्थितिमा कक्षा हुने वा अनलाइन हुने भन्ने निर्णय आइतबार दिउँसोसम्ममा गरिने मेयरले जानकारी दिएका छन्। यसपटक परम्परागत “स्नो डे” बिदाको सट्टा प्रविधिको प्रयोग गरी कक्षा सञ्चालन गर्ने प्रशासनको तयारी छ।
हिमपातको त्रासले बजारमा अत्यावश्यक सामग्रीको माग ह्वात्तै बढेको छ। वालमार्ट, अल्डि र वेगम्यान्स जस्ता ठूला स्टोरहरूले दूध, रोटी र ब्याट्री जस्ता सामानहरूको मौज्दात बढाएका छन्। उडान सेवाहरू पनि नराम्ररी प्रभावित भएका छन्। शुक्रबार मात्रै १,००० भन्दा बढी उडान रद्द वा ढिला भएका छन् भने विमानस्थलहरूमा हिउँ हटाउने उपकरण र अतिरिक्त कर्मचारी परिचालन गरिएको छ।
मौसम विभागले तटीय क्षेत्रमा हल्का बाढी र तीव्र गतिको हावा चल्ने चेतावनी समेत दिएको छ। नागरिकहरूलाई आफ्नो फोन चार्ज राख्न, गाडीलाई न्यानो बनाइराख्न र घर बाहिर रहेका गमला तथा कुर्सी जस्ता हल्का सामानहरू भित्र राख्न सुझाव दिइएको छ।
न्यू जर्सी, पेन्सिलभेनिया, ओहायो र अन्य राज्यका शहरहरूलाई सडकमा छर्कने ‘रक साल्ट’ (नुन) को मौज्दात जुटाउन गाह्रो भइरहेको छ। यसले सडक यात्रा अझ खतरनाक बनाउन सक्छ। शनिबार टेक्सास, ओक्लाहोमा र कान्सासबाट असिना र हिमपातसहितको आँधी सुरु हुने अपेक्षा गरिएको छ। आँधीको दक्षिणी भागमा बरफ जम्ने र उत्तरतिर हिमपात हुने प्रक्षेपण गरिएको छ।
आँधी, बाढी र टोर्नाडोको सामना गर्न अभ्यस्त दक्षिणी राज्यका बासिन्दाहरू यसपटक दुर्लभ हिउँदे मौसमको खतरासँग लड्न आवश्यक सामग्री जुटाउन हतारिएका छन्। विद्युत प्रदायकहरूले लामो समयसम्म बिजुली काटिन सक्ने भन्दै मानिसहरूलाई सचेत गराएका छन्। सन् २०२१ को आँधीमा विद्युत आपूर्ति ठप्प भएको टेक्सासमा यसपटक भने अधिकारीहरूले विद्युत प्रणाली (ग्रिड) ले यो चिसो थेग्न सक्ने दाबी गरेका छन्।






