ठेकेदारको लापरबाहीका कारणले अछाम दरबारको पुनर्निर्माण हुन सकेन, १७ वर्षसम्म पनि
प्रकाशित मिति : बैशाख २२, २०७५ शनिबार
वैशाख २२, कालिकोट । माओवादी सशस्त्र युद्धका क्रममा ०५८ फागुन ४ मा ध्वस्त भएको अछाम दरबार पुनर्निर्माण हुन सकेको छैन। पुनर्निर्माणको कामको जिम्मा लिएका ठेकेदारको लापरबाहीका कारणले पुनर्निर्माण ढिलाइ भएको हो। २०६५ मा राजेन्द्र, साउद, तुल्छीदुर्गा, बडीमालिका र कुँवर गरी पाँच निर्माण कम्पनीले दुई करोड २५ लाख रुपैयाँमा दरबार निर्माणको ठेक्का लिएका थिए। तर, निर्माण कम्पनीको लापरबाहीका कारण दश वर्षसम्म निर्माण पूरा भएको छैन। यस्तो छ दरबारको इतिहास तत्कालीन अछामी राजा टीकाभुक शाहको पालामा निर्माण शुरु भई वि।सं। १९३५ मा उनका छोरा दलबहादुर शाहको पालामा निर्माण सम्पन्न भएको इतिहास उल्लेख छ। टीकाभुकका सन्तानका राजाको पदवी खोसिएपछि नेपाल सरकारले उनैका सन्तान योगेन्द्रबहादुर शाहबाट ०२९ मा ९० हजार रुपैयाँमा दरबार किनेको स्थानीयहरु बताउँछन्। तत्कालीन अछामी राजाका सन्तान सुरतबहादुर शाह र योगेन्द्रबहादुर शाहका भाइ तपेन्द्रबहादुर शाह सेनाका जर्नेल रहेकाले उनले नै सरकारसँग दरबार बिक्रीको व्यवस्था मिलाएको बताइन्छ। तीन तले दरबारमा ३० कोठा थिए। दरबार निर्माणमा मासको प्रयोग गरिएको स्थानीयको भनाइ छ। ०१८ मा ३३ जिल्लाबाट ७५ जिल्ला हुँदा अछाम छुट्टै जिल्ला भएको थियो। छुट्टै जिल्ला भए पनि अछाममा अन्य ठाउँमा भौतिक संरचना नभएकाले मंगलसेनमा रहेको दरबारलाई सरकारी अड्डा मानेर त्यहीबाट अछाम प्रशासनिक काम सुरु गरिएको थियो। बेखबर जनप्रतिनिधि दरबार पुनर्निर्माणमा भइरहेको ढिलाइबारे जिल्लावासीले प्रश्न गर्दा जिल्ला समन्वय समिति अछामका प्रमुख नरबहादुर कुँवरले आफूलाई पनि थाहा नभएका बताउँछन्। ‘भदौमा दरबार निर्माणका लागि आवश्यक पर्ने काठ जता पाइन्छ त्यतैबाट ल्याउन प्रशासनले सहज गराइदिएर काम सञ्चालन भएको हो,’ उनले भने, ‘पुनर्निर्माणको जिम्मा लिएका ठेकेदारहरुले बाहना बनाएर पन्छिन खोज्दा निर्माणको काममा ढिलाइ भएको हो।’ ठेकेदार कम्पनीहरुले ०६७ मै निर्माण सम्पन्न गर्ने गरी शहरी विकास डिभिजन कार्यालय दिपायलसँग सम्झौता गरेका थिए।






