संविधान संशोधन गफ मात्र, प्रक्रिया अलमलमै


प्रकाशित मिति : कार्तिक ७, २०७३ आईतबार

असन्तुष्ट दलहरूलाई सहमतिमा ल्याउन संविधान संशोधन गर्ने तीनबुँदे वाचासहित सरकार गठन भएको झन्डै तीन महिना पुग्न लागेको छ । असन्तुष्ट दलसँग सत्तारुढ दलले गरेको त्रिपक्षीय सहमतिअनुसार संविधान संशोधनको प्रक्रिया भने अझै सुरु भएको छैन । तर, सीमाङ्कन, नागरिकता र भाषाका विषयमा प्रमुख दलबीच केही अनौपचारिक परामर्श भने भएको छ । परामर्श परिणाममुखी भने बन्न सकेको छैन ।

असन्तुष्ट मोर्चाले छठसम्म संविधान संशोधनको प्रक्रिया अघि नबढे आन्दोलनको चेतावनी दिइसकेको छ । सरकारले उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिको नेतृत्वमा असन्तुष्टका माग सम्बोधनका लागि संशोधन प्रक्रिया अघि बढाइरहेको सरकार आबद्ध दलहरूको भनाइ छ ।

सरकारले असन्तुष्ट पक्षसँग मात्र नभई संविधान संशोधनको विषयमा सत्ता गठबन्धनमा रहेका दुई ठूला दलहरूबीच पनि औपचारिक रूपमा बाक्लो छलफल चलेको छैन । प्रमुख सत्ता साझेदार नेपाली काँग्रेसको जारी केन्द्रीय समिति बैठकमा संविधान संशोधनको एजेन्डाले प्रवेश पाउने कार्यसूची भए पनि राजनीतिक घटनाक्रमले उक्त विषय छायामा परेको छ । संसद्मा अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि महाअभियोगको प्रस्ताव दर्ता भएपछि काँग्रेस बैठक सोही घटनामा केन्द्रित भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार व्यवस्थापिका संसद्मा सम्बोधन गर्दै संविधान संशोधनको मस्यौदा अन्तिम चरणमा पुगेको बताएका थिए । सम्बोधनका क्रममा प्रधानमन्त्रीले भनेका थिए, ‘असन्तुष्ट पक्षलाई सहमतिमा ल्याउनेगरी संशोधनको अन्तिम ड्राफ्ट बन्दैछ । तिहार वा छठसम्म सत्तापक्ष, प्रतिपक्ष र आन्दोलनरत पक्षसँग पनि छलफल गरी संविधान संशोधन हुन्छ । ’ तर, प्रधानमन्त्रीको सम्बोधनअनुसारको मस्यौदाबारे सत्ता साझेदार दल नै बेखबर छन् । आन्दोलनरत मधेसी मोर्चाले पनि मस्यौदाबारे आफूहरूसँग कुनै परामर्श नभएको बताएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र अन्य प्रतिपक्ष दलहरूले मस्यौदा देखाउन चुनौती दिइरहेका छन् । प्रतिपक्षी दलहरू सरकारको मस्यौदा हेरेर त्यसमा प्रतिक्रिया दिने मुडमा छन् । औचित्यका आधारमा मात्र संविधान संशोधन गर्न सकिने प्रतिपक्ष दलहरूले बताउँदै आएका छन् ।

सत्ता साझेदार नेपाली काँग्रेसका संसदीय दलका प्रमुख सचेतक चीनकाजी श्रेष्ठले सबै पक्षलाई समेटेर संविधानको स्वीकार्यता बढाउने विषय भए पनि गहन परामर्श भने नभएको बताए । श्रेष्ठले काँग्रेसको जारी केन्द्रीय समिति बैठक सकिएपछि यस विषयमा ठोस प्रक्रिया अघि बढ्ने बताए । उनले भने, ‘संविधान कार्यान्वयनका लागि सर्वस्वीकार्यता आवश्यक छ । असन्तुष्टका माग सम्बोधनका लागि हामीले प्रक्रिया अघि बढाउनुपर्नेछ । तर, कुन विषयमा कस्तो संशोधन गर्ने भन्नेबारे निष्कर्ष भने निस्किएको छैन ।’

एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले संविधान संशोधनका विषयमा प्रतिपक्ष दलसँग गहन छलफल नभएको बताए । ढकालले औचित्यका आधारमा एमालेले संविधान संशोधनबारे निर्णय लिने बताए । उनले भने ‘प्रधानमन्त्रीले भन्नुभएको मस्यौदा हेर्न हामी पनि व्यग्र नै छौँ । तर, मस्यौदाबारे औपचारिक रूपमा प्रतिपक्ष दलसँग परामर्श भएको छैन । शीर्ष तहमा पनि अनौपचारिक रूपमा पनि यस विषयले त्यति प्राथमिकता पाएको बुझिन्न । ’

सत्तारुढ दल माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक टेकबहादुर बस्नेतले सीमाङ्कन, नागरिकता र भाषाका विषयमा छलफल भइरहेको बताए । बस्नेतले संविधान संशोधनका लागि सबै दलबीच सहमतिको आवश्यकता रहेको प्रतिपक्ष र असन्तुष्ट दलसँग छलफल गरेर निष्कर्षमा पुग्ने बताएका गोरखापत्रमा खबर छ । उनले भने ‘सीमाङ्कन, नागरिकता र भाषाका विषयमा आधारभूत सहमति दलहरूबीच छ । अन्तर्वस्तु त्यसको औचित्य र आवश्यकता हेरेरमात्र संशोधनको विषय निष्कर्षमा पुग्छ ।’

आन्दोलनरत मधेसी मोर्चाका नेताहरूले पनि संविधान संशोधनबारे कुनै पनि गहन परामर्श नभएको बताएका छन् । सद्भावनाका लक्ष्मणलाल कर्णले प्रधानमन्त्रीले अन्तिम चरणमा भएको भनेको मस्यौदाबारे आन्दोलनरत पक्षलाई जानकारी नभएको बताए । कर्णले भने, ‘पछिल्लो मस्यौदाबारे हामीलाई केही जानकारी छैन । परामर्श पनि भएको छैन । हामी विगतको ११ बुँदे मागमा नै छौँ । सरकारले प्रस्ताव ल्याएको अवस्थामा हेरेर प्रतिक्रिया दिन्छौँ ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com