विद्यालय भर्ना नभएका बालबालिका खोज्न नगर प्रमुख घरदैलोमा


प्रकाशित मिति : बैशाख १५, २०७५ शनिबार

विद्यालय भर्ना नभएका बालबालिका खोज्नका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख दिलबहादुर ऐर घरदैलोमा पुग्न थाल्नुभएको छ ।

विद्यालय भर्ना नभएका बालबालिकाका घरमा पुगेर अभिभावकलाई उहाँले शिक्षाको महत्वबारे सम्झाउँदै हिडँनुभएको हो ।

शिक्षाबाटै देशलाई परिवर्तन गर्न सकिन्छ, अहिलेका बालबालिका भविष्यका कर्णधार भएकाले विद्यालय पठाउन कन्जुस्यार्इं नगर्नुस् नगरप्रमुख ऐरले नगरपालिकाको वडा नं ९ सिसैयामा पुगेर अभिभावकका घरमा पुगेर भन्नुभयो, “एक छाक खाएर भए पनि बालबालिकालाई विद्यालयमा भर्ना गराउनोस् ।”

“सामुदायिक विद्यालयमार्फत निःशुल्क पाठ्यपुस्तक मिल्छ, कुनै शुल्क तिर्नु पर्दैन, गरीब र जेहनदारका लागि झोला, अभ्यास पुस्तिका र पोशाकका लागि छात्रवृत्ति मिल्छ, तपाईंहरुका बालबालिकालाई पढाउने दृढ इच्छाशक्तिको खाँचो छ”, उहाँले भन्नुभयो ।

घरदैलोमा पुगेका नगरप्रमुखको कुरा सुनेपछि अभिभावक बन्धु चौधरीले भन्नुभयो, “यो सबै कुरा थाहा थिएन, बालबालिकालाई विद्यालय पठाउन कन्जुस्यार्इं गर्दैनौँ, ढुक्क भए हुन्छ ।” नगर प्रमुख ऐर वडा नं ४, ६, ९ र ११ वडाका अभिभावकको घरदैलोमा पुग्नुभएको छ । नगर प्रमुख ऐर, वडाध्यक्ष, वडा सदस्य र शिक्षकसँगै चेतनामूलक कार्यक्रममा व्यस्त हुनुभएको छ ।

दिनको दुई घण्टा उहाँले शिक्षाको पहुँचबाट टाढा रहेका बालबालिका खोजेर विद्यालयमा ल्याउनका लागि आफैँ घरदैलोमा पुग्ने कार्यलाई निरन्तरता दिँदै आएको वडा नं ९ का वडाध्यक्ष रमेश ऐरले बताउनुभयो ।

“नगर प्रमुख आफैँ घरदैलोमा पुग्न थालेपछि बालबालिकालाई आफूसँगै मजदूरीमा लैजाने अभिभावक प्रतिबद्धता जाहेर गर्दै बालबालिकालाई विद्यालय भर्ना गराउन थालेका छन्”, वडाध्यक्ष ऐरले भन्नुभयो । नगर प्रमुख आफँै घरदैलोमा पुगेर चेतना छर्न थालेपछि निजी विद्यालयमा पढाउँदै आएका अभिभावकले समेत बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गराएका छन् ।

जनचेतनामूलक कार्यक्रम गरिएपछि राष्ट्रिय माध्यमिक विद्यालय पिपलाडीमा मात्रै १६ जनाभन्दा बढी निजी विद्यालयमा पढ्दै आएका बालबालिका भर्ना भएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com