अमेरिकामा ग्रिनकार्ड स्पोन्सर लगायतमा स्पोन्सरकर्ताले आम्दानीको स्तर कसरी थाहा पाउने?


प्रकाशित मिति : चैत्र २५, २०८० आईतबार

focus photography of person counting dollar banknotes

अमेरिकामा परिवारमा आधारित ग्रिनकार्ड स्पोन्सरगर्नका लागि स्पोन्सरकर्ताको आम्दानीको पोभर्टी गाइडलाइनको १२५ प्रतिशत हुनुपर्छ । त्यस्तै आर्थिक सहायताको घोषणा फर्म आई १३४ भर्नका लागि पनि आम्दानीको स्तर पोभर्टी गाइडलाइनको १०० प्रतिशत हुनुपर्छ ।

त्यस्तै अप्रिल १ देखि अमेरिकी नागरिकता आवेदन दिंदा तपाईको आम्दानी पोभर्टी गाइडलाइनको ४ सय प्रतिशतभन्दा कम छ भने तपाईले शुल्कमा ५० प्रतिशत डिस्काउन्ट पाउनुहुनेछ । अर्थात् अमेरिकी नागरिकताका लागि नियमित ७६० डलर शुल्क रहेकोमा डिस्काउन्ट पाउनेले ३८० डलरमात्र तिरे पुग्छ ।

यो बाहेक अमेरिकामा अन्य कैयन सेवा सुविधाहरुमा पनि पोभर्टी गाइडलाइनको गणना गरिन्छ । तर कतिपय नेपालीहरु आफ्नो आम्दानी पोभर्टी गाइडलाइनको कति प्रतिशतभित्र पर्छ भन्नेमा अलमलमा परेका देखिन्छन् ।

अलास्का र हवाईबाहेक अमेरिकाका ४८ वटा राज्यमा २०२४ को पोभर्टी गाइडलाइनको १०० प्रतिशत भनेको एकजना व्यक्तिका सन्दर्भमा १५ हजार ६० डलर हो भने १२५ प्रतिशत भनेको १८ हजार ८ सय २५ डलर हो । त्यस्तै २ सयप्रतिशत भनेको १५ हजार ६० को दोब्बर अर्थात् ३० हजार १ सय २० हो भने ४ सय प्रतिशत भनेको ६० हजार २ सय ४० हो । यसरी हेर्दा यदि तपाई एकल हुनुहुन्छ भने तपाईको बार्षिक आम्दानी ६० हजार २ सय ४० भन्दा कम छ भने तपाईले अमेरिकी नागरिकता आवेदन दिंदा ५० प्रतिशत शुल्क डिस्काउन्ट पाउनुहुनेछ ।

अमेरिकामा ४८ वटा राज्यमा पोभर्टी गाइडलाइनको ५० प्रतिशतदेखि ७ सय प्रतिशतसम्मको हिसाबकिताब

त्यस्तै यदि तपाईको २ जनाको परिवार छ भने पोभर्टी गाइडलाइनको १०० प्रतिशत आम्दानी भनेको २० हजार ४४० डलर हो भने ४ सय प्रतिशत भनेको ८१ हजार ७ सय ६० हो । तीनजनाको परिवारका लागि पोभर्टी गाइडलाइनको १०० प्रतिशत आम्दानी २५ हजार ८ सय २० डलर हो भने ४ सय प्रतिशत भनेको १ लाख ३ हजार २ सय ८० डलर हो । जस अनुशार २ जनाको परिवारको आम्दानी ८१ हजार ७ सय ६० भन्दा कम र तीनजनाको परिवारको आम्दानी १ लाख ३ हजार २ सय ८० डलरभन्दा कम छ भने तपाईले अमेरिकी नागरिकता आवेदन दिंदा ५० प्रतिशत डिस्काउन्ट पाउनुहुनेछ । यस्तो डिस्काउन्ट प्राप्त गर्नका लागि तपाईले अघिल्लोबर्षको ट्याक्सफाइल र डब्लु टु लगायतका आम्दानी प्रमाणित गर्ने कागजातहरु पेश गर्नुपर्छ ।

पोभर्टी गाइडलाइनको एकजनाको शतप्रतिशत आम्दानी १५ हजार ६० मा परिवारका सदस्यहरु जति बढ्दै जान्छन् त्यतीपटक ५ हजार ३ सय ८० डलर थप्दै जानुपर्छ । र पोभर्टी गाइडलाइनको प्रतिशत गणना गर्न त्यसलाई २ सय प्रतिशतका लागि २ ले, तीनसय प्रतिशतका लागि ३ ले, ४ सय प्रतिशतका लागि ४ ले गुणा गर्दै जानुपर्छ । उदाहरणका लागि आफ्नो आम्दानी पोभर्टी गाइडलाइनको १२५ प्रतिशत हुनलाई कतिरकम आवश्यकपर्छ भन्ने थाहा पाउन १५ हजार ६० मा परिवारका सदस्यसंख्या अनुशार ५ हजार ३ सय ८० डलर थप्दै १ दशमलव २५ ले गुणा गर्नुपर्छ ।

कसैलाई ग्रिनकार्ड स्पोन्सर गर्नका लागि पोभर्टी गाइडलाइनको १२५ प्रतिशत आम्दानी हुनुपर्ने भएकाले यदि तपाईको दुईजनाको परिवारको आम्दानी ३२ हजार २ सय ७५ डलरभन्दा माथि छ भनेमात्र तपाईलाई एकजनालाई स्पोन्सर गर्न सक्नुहुनेछ । त्योभन्दा बढीलाई स्पोन्सर गर्नुपरेमा प्रत्येक एकजनाका लागि आम्दानी ६ सय ७२५ डलर थप्दै जानुपर्छ । उदाहरणका लागि तपाईको २ जनाको परिवार छ र अरु तीनजनालाई स्पोन्सर गर्न चाहनुहुन्छ भने तपाईको आम्दानी ४५ हजार ७ सय २५ डलरभन्दा माथि हुनुपर्छ ।

हवाईमा पोभर्टी गाइडलाइनको ५० प्रतिशतदेखि ७ सय प्रतिशतसम्मको हिसाबकिताब

अलास्कामा पोभर्टी गाइडलाइनको शतप्रतिशत आम्दानी भनेको एकजनाको हकमा १८ हजार ८ सय १० हो भने परिवारका प्रति सदस्य ६ हजार ७ सय ३० डलर थप्दै जानुपर्छ । हवाईमा पोभर्टी गाइडलाइनको शतप्रतिशत आम्दानी भनेको एकजनाको हकमा १७ हजार ३ सय १० डलर हो भने परिवारका प्रति सदस्य ६ हजार १ सय ९० डलर थप्दै जानुपर्छ ।

अलास्कामा पोभर्टी गाइडलाइनको ५० प्रतिशतदेखि ७ सय प्रतिशतसम्मको हिसाबकिताब
© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com