केन्द्रले एक महिनाभित्र कर्मचारी नपठाए आफैं भर्ती गर्ने गाउँपालिका महासंघ


प्रकाशित मिति : बैशाख १२, २०७५ बुधबार

संघीय सरकारले एक महिनाभित्र स्थानीय तहमा आवश्यक कर्मचारी नखटाए स्थानीय सरकार आफैंले संविधान बमोजिम कर्मचारी व्यवस्थापन गर्ने चेतावनी गाउँपालिका महासंघले दिएको छ ।

कर्मचारी अभावमा गाउँपालिकाले काम गर्न नपाएको र जनप्रतिनिधि असफल बन्ने खतरा रहेको भन्दै महासंघले सरकारलाई एक महिनाको अल्टिमेटम दिएको हो ।

गाउँपालिका महासंघको नवनिर्वाचित नेतृत्वको पहिलो बैठकले एक महिनाभित्र सरकारले कर्मचारी नदिएमा संविधानको व्यवस्था अनुसार स्थानीय सेवा ऐन जारी गरी कर्मचारी भर्ना गर्ने निर्णय लिएको हो । संविधानले स्थानीय सरकारलाई सेवा ऐन जारी गर्ने अधिकार दिएको छ ।

बैठकका निर्णयबारे जानकारी दिदै महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले भने ‘हामीले एक वर्ष पर्खियौं तर कर्मचारी व्यवस्थापन भएन । अब एक महिना पर्खिन्छौं, त्यो समयभित्र पनि केन्द्र सरकारले कर्मचारी पठाएन भने सबै गाउँपालिकाहरुलाई स्थानीय सेवा ऐन जारी गरेर कर्मचारी व्यवस्थापनको शुरुवात गर्न आह्वान गरेका छौं ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्थानीय तहमा कर्मचारी पूर्ति गर्न सरकारले अझै सकेको छैन । समायोजन नहुन्जेल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काजमा कर्मचारी खटाए पनि खटाएको ठाउँमा कर्मचारी जान मानेका छैनन् ।

मन्त्रालयले स्थानीय तहमा जान चाहने कर्मचारीलाई रोजेको ठाउँमा पठाउने गरि फारम भर्न पनि आहृवान गरेको छ । तर कर्मचारी यो योजनामा पनि उत्साहित छैनन् ।

मर्यादाक्रममा आपत्ति

गाउँपालिका महासंघले सरकारले तय गरेको जनप्रतिनिधिको मर्यादाक्रमप्रति समेत आपत्ति जनाएको छ । निर्वाचित जनप्रतिनिधिलाई हिनताबोध गराउने ढंगले कर्मचारीभन्दा तल्लो मर्यादामा राखिएको भन्दै महासंघले यसको पुनरावलोकनको माग गरेको छ ।

संविधानले गाउँपालिका नगरपालिकालाई समान हैसियत प्रदान गरे पनि वरियताक्रम निर्धारण गर्दा नगरपालिकाका मेयरभन्दा गाउँपालिका अध्यक्षलाई निकै तल राखिएको गुनासो महासंघको छ ।

त्यस्तै महासंघले वडाध्यक्षहरुसम्को वरियताक्रम निर्धारण गर्न र नगर तथा गाउँप्ालिका समान हैसियतका भएकाले गाउँ भएकै कारण स्रोत साधान व्यवस्थापन तथा जननिर्वाचित प्रतिनिधिहरुबीच विभेद नगर्न आग्रह गरेको छ ।

गाउँपालिका महासंघले केही सरकारी कार्यालयहरु नियतवश नामसमेत फेरेर जिल्लामै राखिएको भन्दै तत्काल गाउँ पठाउन आग्रह गरेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम जिल्लास्थित विषयगत कार्यालयहरु ६ महिनाभित्र स्थानीय तहमा समायोजन हुनुपर्नेमा नाम समेत परिवर्तन गरेर जिल्लामै बस्न खोजेको महासंघका अध्यक्ष श्रेष्ठले बताए ।

श्रेष्ठले स्थानीय तहलाई असफल पार्न केन्द्र र प्रदेश सरकारका अंगहरु समेत लागेको भन्दै जनप्रतिनिधिलाई बद्नाम गर्ने तथा आक्रमण गर्ने घटना सोही पृष्ठभूमीमा बढिरहेको बताए । उनले जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने सरकारलाई असफल पार्न खोजिएको आरोप लगाए ।

१७ बुँदे सदाचार नीति

यसैबीच गाउँपालिका महासंघले गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिहरुका लागि १७ बुँदे सदाचार नीति बनाएको छ । जनप्रतिनिधिका काम कारवाही पारदर्शी, जनउत्तरदायी र निष्पक्ष बनाउन महासंघले सबै वडा सदस्यदेखि गाउँपालिका अध्यक्षसम्मलाई सदाचार नीतिमा बाँध्न खोजेको हो ।

सदाचार नीतिमा असम्भव कुरा नबोल्ने, बोलेका कुरा पूरा गर्ने, जनताप्रति समान व्यवहार गर्ने, अपाच्य र भड्किलो जीवनशैली नअपनाउने, त्यस्ता समारोहहरु प्नि आयोजना नगर्ने, बहाना बनाएर कामबाट नपन्छिने, आर्थिक रुपमा पारदर्शी हुने लगायतका बुँदा छन् ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com