आश्रय दिने नाममा १२ जना बालिकालाई राखेको अभियोगमा नेपालमा अमेरिकी नागरिक पक्राउ
प्रकाशित मिति : माघ ११, २०८२ आईतबार
नेपालको अध्यागमन विभागले शंकास्पद गतिविधिमा संलग्न भएको आरोपमा एक अमेरिकी नागरिकलाई पक्राउ गरेको छ। विभागका अनुसार उनी सन् २०१७ मा पहिलो पटक नेपाल प्रवेश गरेका थिए भने सन् २०२० मा पुनः नेपाल आएपछि हालसम्म यहीं बस्दै आएका छन्।
उनी हाल व्यवसायिक भिसामा नेपालमा रहेका छन्। तर व्यवसायको नाममा सिन्धुपाल्चोकको साँगाचोकगढीमा ‘क्यालभरी सर्भिस सेन्टर प्रालि’ स्थापना गरे पनि उक्त संस्था खासै सञ्चालनमा नआएको अध्यागमन विभागले जनाएको छ। कम्पनीको ठेगाना ललितपुर–१८, सैंबु उल्लेख गरिएको छ, जसले थप शंका उत्पन्न गरेको विभागको भनाइ छ।
अनुसन्धानका क्रममा उनले व्यवसायको आवरणमा गोदावरी नगरपालिकामा घर भाडामा लिएर गैरकानुनी रूपमा बालगृह सञ्चालन गरेको पाइएको विभागले जनाएको छ। बालगृह सञ्चालनका लागि आवश्यक आधिकारिक अनुमति वा बोर्ड नभएको बताइएको छ। उक्त भवनमा आर्थिक रूपमा कमजोर अवस्थाका १२ जना बालिकालाई आश्रय दिइएको जनाइएको छ।
अध्यागमन विभागका अनुसार ती अमेरिकी नागरिकले नेपालमा बस्ने प्रयोजनका लागि पटक–पटक अध्ययन तथा व्यवसायिक भिसा लिई बसेका थिए। नियन्त्रणमा लिएपछि उनले नेपाल सरकार तथा प्रशासनप्रति घृणात्मक अभिव्यक्ति दिएको पनि विभागले जनाएको छ।
उनले क्रिश्चियन धर्मसम्बन्धी गतिविधिमा संलग्न गराउने गरेको तथा १२ जना बालिकासँग शंकास्पद गतिविधि गरेको स्थानीय बासिन्दाहरूले आशंका गरेका छन्। स्थानीयहरूले भवनका भित्ताहरूमा क्रिश्चियन धर्मसम्बन्धी सन्देश पेन्ट गर्ने लगायतका गतिविधि भएको आरोप पनि लगाएका छन्।
अध्यागमन विभागले यस विषयमा अनुसन्धान अगाडि बढाएको छ। अनुसन्धान टुंगो लगाउन कम्तीमा पाँच दिन लाग्ने बताइएको छ। अनुसन्धानपछि उनको भिसा र कारबाहीबारे निर्णय गरिने तथा बालबालिका कुनै पनि हिंसामा परेका छन् वा छैनन् भन्ने विषयमा आवश्यक अनुसन्धान अगाडि बढाइने विभागले जनाएको छ।
निज अमेरिकी नागरिक केही समयअघि नेपालबाट डिपोर्ट गरिएका डेनियल स्टेभेन कर्नीसँग जोडिएको आशंका पनि गरिएको छ। कर्नीले नेपालमा प्रकाशनको नाममा क्रिश्चियन धर्म प्रचारसम्बन्धी पुस्तकहरू प्रकाशन गरेको तथा ललितपुरको लगनखेल, मंगलबजारलगायत स्थानमा सार्वजनिक रूपमा क्रिश्चियन धर्मको प्रचार गरेको भिडियोसहित प्रमाण फेला परेपछि पक्राउ परेका थिए।
साथै, उनी एउटा बालगृह सञ्चालनमा अप्रत्यक्ष रूपमा संलग्न रहेको तथा उक्त बालगृहले दुर्गम क्षेत्रका आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाई पढाउने नाममा क्रिश्चियन धर्म सिकाउने गरेको अनुसन्धानबाट पुष्टि भएपछि उनी परिवारसहित डिपोर्ट गरिएको थियो।






