अमेरिकामा भीषण शीतकालीन आँधी: १८ राज्यमा संकटकाल घोषणा, २० करोडभन्दा बढी प्रभावित


प्रकाशित मिति : माघ १०, २०८२ शनिबार

अमेरिकामा फैलिएको भीषण शीतकालीन आँधीका कारण देशभर करिब २० करोडभन्दा बढी मानिस प्रभावित भएका छन्। आर्कान्सास लगायतका क्षेत्रमा बाक्लो हिमपात भएको छ भने आँधीको प्रभावका कारण कम्तीमा १८ वटा राज्यले संकटकाल घोषणा गरेका छन्। राहत र उद्धारका लागि ९ वटा राज्यले ‘नेसनल गार्ड’ समेत सक्रिय गराएका छन्।

अमेरिकी राष्ट्रिय मौसम सेवाका अनुसार, यो आँधी सोमबारसम्म दक्षिणी रकी पर्वतमालादेखि न्यू इङ्गल्यान्डसम्म फैलिनेछ। यो दीर्घकालीन र शक्तिशाली आँधीले व्यापक रूपमा भारी हिमपात, असिना र जम्ने वर्षा ल्याउने चेतावनी दिइएको छ।

पूर्वानुमानअनुसार यात्रामा अवरोध, लामो समयसम्म विद्युत् आपूर्ति बन्द हुन सक्ने र ठूलो मात्रामा रुखहरू ढल्ने जोखिम रहेको छ।

अत्यन्त न्यून तापक्रम, तीव्र हावा र “खतरनाक विन्ड चिल” (हावासँगै महसुस हुने चिसो) ले जनजीवन कष्टकर बनाउने देखिएको छ। ज्यान नै जोखिममा पार्न सक्ने चिसो हावा हाइ प्लेन्स र रकी क्षेत्रबाट पूर्वतर्फ सर्ने क्रममा छ, जसले ३० राज्यका २० करोड मानिसलाई असर गर्नेछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

क्यानडाको विनिपेगमा तापक्रम -२५ डिग्री सेल्सियस र विन्ड चिलका कारण कतिपय स्थानमा -४५ डिग्री सेल्सियस सम्म झर्न सक्ने चेतावनी दिइएको छ। मिसौरीको सेन्ट लुइसमा तापक्रम -१० डिग्री र टेक्सासको ह्युस्टनमा ५ डिग्री सेल्सियससम्म ओर्लिने अनुमान छ, जुन औसतभन्दा निकै कम हो।

आँधीका कारण सप्ताहन्तमा १० हजारभन्दा बढी उडानहरू रद्द भएका छन्। शनिबार ३,५०० र आइतबार ६,५०० भन्दा बढी उडान रोकिएका छन्। विशेषगरी डलास–फोर्ट वर्थ र चार्लोट डग्लस विमानस्थल बढी प्रभावित भएका छन्। डेल्टा र अमेरिकन एयरलाइन्सले यात्रुहरूलाई निःशुल्क उडान परिवर्तन गर्ने सुविधा दिएका छन्।

यस्तै, ८४ हजारभन्दा बढी ग्राहक विद्युत् सेवाबाट वञ्चित भएका छन्। यसमा टेक्सास, लुइजियाना, आर्कान्सास र क्यालिफोर्नियाका बासिन्दाहरू बढी मारमा परेका छन्।

न्यूयोर्क सिटीका मेयर जोहरान माम्दानीले सहरमा ८ देखि ९ इन्चसम्म हिमपात हुन सक्ने र यो विगत आठ वर्षकै सबैभन्दा चिसो मौसम हुने बताएका छन्। न्यू जर्सी र न्यूयोर्कका केही भागमा १० देखि १४ इन्च तथा बोस्टन र दक्षिणी न्यू इङ्गल्यान्डमा १७ इन्चसम्म हिमपात हुन सक्ने अनुमान गरिएको छ।

न्यू जर्सीको उत्तरपूर्वी भाग र न्यूयोर्क सिटीसहित न्यूयोर्कको दक्षिणपूर्वी क्षेत्रमा १० देखि १४ इन्चसम्म हिमपात हुने सम्भावना छ। बोस्टनसहित दक्षिणी न्यू इङ्ग्ल्यान्डमा १२ देखि १७ इन्चसम्म हिमपात र प्रतिघण्टा ३० माइलको वेगमा हावा चल्न सक्नेछ। अमेरिकाले अहिले अत्यन्तै खतरनाक शीतकालीन आँधीको सामना गरिरहेको छ। अधिकारीहरूले सतर्कता अपनाउन तथा अनावश्यक यात्रा नगर्न नागरिकहरूलाई आग्रह गरेका छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com