अमेरिकाको मिनियापोलिस तनावग्रस्त: आप्रवासन अधिकारीको गोली लागेर एकको मृत्यु
प्रकाशित मिति : माघ १०, २०८२ शनिबार
फोटो : एपी/रासस
अमेरिकामा संघीय अधिकारीले गोली प्रहार गर्दा एकजनाको मृत्यु भएको छ। ‘डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी’ (डीएचएस) ले बिहान मिनियापोलिसमा एक संघीय अधिकारीले चलाएको गोली लागेर एक व्यक्तिको मृत्यु भएको पुष्टि गरेको छ।
डीएचएस प्रवक्ता ट्रिसिया म्याकलफलिनका अनुसार, सीमा गस्ती (बोर्डर पेट्रोल) अधिकारीहरूले “हिंसात्मक आक्रमणमा संलग्न रहेको आरोपमा खोजीमा रहेका एक कागजातविहीन आप्रवासी” विरुद्ध लक्षित कारबाही गरिरहेका बेला यो घटना भएको हो।
खोजतलासका क्रममा एक व्यक्ति सेमी–अटोमेटिक ह्यान्डगनसहित सुरक्षाकर्मीको नजिक आएको डीएचएस को दाबी छ। प्रवक्ताका अनुसार, आप्रवासन अधिकारीहरूले संदिग्धलाई निःशस्त्र पार्ने प्रयास गरे तापनि ती व्यक्तिले उल्टै गोली चलाउन खोजेपछि यो स्थिति सिर्जना भएको हो।
म्याकलफलिनले संदिग्धसँग दुईवटा म्यागजिन रहेको जानकारी दिइन्। मृतकको साथमा कुनै पनि पहिचान खुल्ने कागजात नभएको बताइएको छ। घटनापछि केही प्रदर्शनकारीहरू घटनास्थलमा पुगेर कानून कार्यान्वयनमा संलग्न अधिकारीहरूलाई अवरोध गर्ने र आक्रमण गर्ने प्रयास गरेको दाबी समेत उनले गरेकी छन्।
यता, मिनियापोलिस प्रहरी प्रमुख ब्रायन ओ’हाराले गोली लागेर मृत्यु हुने व्यक्ति ३७ वर्षीय श्वेत पुरुष रहेको बताएका छन्। ती मृतक अमेरिकी नागरिक हुन सक्ने प्रहरी प्रमुखको आँकलन छ।






