राष्ट्रसंघ मुख्यालयमा अर्केस्ट्राको तालमा ‘रेशम फिरीरी’ गुञ्जिएपछि
प्रकाशित मिति : माघ १०, २०८२ शनिबार
फोटो श्रोत: खसोखास
झन्डै आठ दशकअघि लन्डनबाट सुरु भएको एउटा विश्वव्यापी अभियान संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद् (इकोसक)ले शुक्रबार न्युयोर्कमा आफ्नो ८०औँ बार्षिकोत्सव मनाउँदै गर्दा एउटा रोचक दृश्य देखियो। संयुक्त राष्ट्रसंघको विशाल ‘इकोसक’ हल, जहाँ विश्वका शक्तिशाली देशका प्रतिनिधिहरू गम्भीर आर्थिक र सामाजिक मुद्दामा बहस गर्छन्, उक्त बहस सुरु हुनु अगाडि त्यहाँ शुक्रबारको विहान भने अलि भिन्न रह्यो।
जब न्यूयोर्क सिटी सिम्फोनी अर्केस्ट्राका वाद्यवादनहरूले ‘रेशम फिरीरी’ को सुमधुर धुन बजाउन थाले, तब हलमा उपस्थित विश्वभरका कूटनीतिज्ञहरू मन्त्रमुग्ध भए। महासचिव एन्टोनियो गुटेरेस, संयुक्त राष्ट्रसंघको ८० औं महासभा अध्यक्ष अन्नालेना बेरबक लगायतको उपस्थिति रहेको उक्त विशेष समारोहमा नेपाली लोक धुन गुञ्जिँदा हल तालीको गडगडाहटले गुञ्जायमान भयो।
यो केवल एक सांगीतिक प्रस्तुति मात्र थिएन, बरु नेपालको बढ्दो कूटनीतिक उचाइको प्रतिबिम्ब पनि थियो। संयुक्त राष्ट्रसंघको सबैभन्दा शक्तिशाली अंगहरूमध्ये एक आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को ८०औँ वार्षिकोत्सवको अध्यक्षता नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापाले गरिरहेका थिए। इकोसकको नेतृत्व सम्हालिरहेको बेला राजदूत थापाले नेपालको चिनारीलाई केवल भाषणमा मात्र सीमित राखेनन्, ‘सांस्कृतिक कूटनीति’ मार्फत विश्वका कानसम्म पुऱ्याए।
“हामीले तीनवटा धुनहरू प्रस्तुत गर्ने योजना बनाएका थियौँ, तर समय अभावले एउटा मात्र सम्भव भयो,” राजदूत थापाले गौरवका साथ भने। “नेपाल चिनाउने यो एउटा महत्त्वपूर्ण कडी हो, जसले हाम्रो सांस्कृतिक सौन्दर्यलाई विश्वमाझ नयाँ उचाइमा पुर्याएको छ।”
सन् १९६९ मा बुद्धि परियारले संकलन र संगीतबद्ध गरेको ‘रेशम फिरीरी’ नेपाली पहिचानको पर्याय हो। सुन्दर श्रेष्ठ, द्वारिकालाल जोशी र शान्ति ठटाल जस्ता दिग्गज कलाकारहरूको स्वरमा सजिएको यो गीतले दशकौँदेखि विदेशी पर्यटक र संगीतप्रेमीलाई लोभ्याउँदै आएको छ। तर, राष्ट्रसंघको मुख्यालयमा अर्केस्ट्राको लयमा यो धुन गुञ्जिनु सम्भवतः पहिलो पटक हो।
यो प्रस्तुतिले नेपाल कला, संस्कृति र मौलिकतामा संसारलाई नै मन्त्रमुग्ध पार्न सक्ने सामर्थ्य बोकेको मुलुक भएको एउटा बलियो सन्देश दिएको छ । गरिबी निवारण र जलवायु परिवर्तनका ठूला बहस हुने हलमा सुनिएको नेपाली धुनले नेपालको ‘सफ्ट पावर’ लाई विश्वसामु उजागर गरेको छ।
अन्तर्राष्ट्रिय कूटनीतिको मञ्चमा ‘रेशम फिरीरी’ को त्यो लयले नेपालको शान मात्र बढाएन, ८० वर्ष पुरानो संस्थाको वार्षिकोत्सवलाई सधैँका लागि अविस्मरणीय समेत बनाइदियो।






