अमेरिका: विमानस्थलबाटै १०० जना धर्मगुरु पक्राउ, आप्रवासन नीतिको विरोधमा मिनेसोटा ठप्प


प्रकाशित मिति : माघ ९, २०८२ शुक्रबार

फोटो : एपी/रासस

अमेरिकाको मिनेसोटामा आप्रवासनमा गरिएको कडाइको विरोधमा व्यवसायहरू बन्द गरिएका छन्। हजारौँ प्रदर्शनकारीहरू कठ्याङ्ग्रिने चिसोको पर्वाह नगरी सडकमा उत्रिएर विरोध प्रदर्शन गरिरहेका छन्। आयोजकहरूले स्थानीय बासिन्दालाई काम वा विद्यालय नजान र किनमेल नगर्न आह्वान गरेपछि यो आर्थिक विरोध प्रदर्शन सुरु भएको हो।

प्रदर्शनकारीहरूले अमेरिकी आप्रवासन तथा भन्सार कार्यान्वयन निकाय (आइस) को गतिविधिप्रति कडा असहमति जनाएका छन्। ट्रम्प प्रशासनको आदेशमा मिनेसोटामा सुरु गरिएको ‘आइस’ को अपरेशन ६ हप्ताभन्दा बढी समयदेखि जारी छ।

प्रशासनले यस कदमलाई अवैध रूपमा बसिरहेका र आपराधिक पृष्ठभूमि भएका व्यक्तिहरूलाई देश निकाला गर्ने ‘सार्वजनिक सुरक्षा अभियान’ का रूपमा व्याख्या गरेको छ। तर, आलोचकहरूले भने आपराधिक रेकर्ड नभएका आप्रवासीहरू र कतिपय अमेरिकी नागरिकहरू समेत अनाहकमा पक्राउ परिरहेको भन्दै चेतावनी दिएका छन्।

प्रदर्शनका क्रममा मिनियापोलिस विमानस्थलबाट करिब १०० जना धर्मगुरुहरू पक्राउ परेका छन्। प्रदर्शनकारीहरूले अमेरिकी एयरलाइन्सलाई ‘आइस’ द्वारा पक्राउ गरिएका व्यक्तिहरूलाई ओसारपसार नगर्न आग्रह गर्दै विमानस्थलमा धर्ना दिएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसै महिनाको सुरुमा ३७ वर्षीया स्थानीय महिला रेनी गुडको हत्या भएपछि राज्यभर तनाव चर्किएको छ। १० डिग्री फारेनहाइटको अत्यधिक चिसोमा पनि हजारौँ मानिसहरूले डाउनटाउन मिनियापोलिसमा मार्च गरेका छन्।

उपराष्ट्रपति जेडी भान्सले मिनेसोटाको स्थानीय प्रहरीलाई संघीय अधिकारीहरूसँग सहकार्य गरी आप्रवासन कानुन कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरेका छन्।

मिनेसोटा र यसका केही सहरहरूमा ‘स्यान्क्चुअरी’ नीति लागू छ, जसले स्थानीय प्रहरीलाई ‘आइस’ सँग सहकार्य गर्न सीमित गर्दछ। ट्रम्प प्रशासनले यस नीतिलाई सुरक्षाका लागि खतरा मानेको छ।

यसै विवादका बीच मिनियापोलिसकी एफबीआई एजेन्ट ट्रेसी मर्जेनले पदबाट राजीनामा दिएकी छिन्। रेनी गुड गोलीकाण्डको अनुसन्धानलाई पुनः वर्गीकृत गर्न वा बन्द गर्न माथिल्लो निकायबाट दबाब आएको भन्दै उनले राजीनामा दिएकी हुन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com