न्यूयोर्क स्वस्थानी महोत्सवमा दुई लाख डलरभन्दा बढी संकलन, दिनको एक डलर अभियानले लियो गति
प्रकाशित मिति : माघ ७, २०८२ बुधबार
न्यूयोर्कको रिजउडस्थित दुर्गा मन्दिर तथा नेपाली सामुदायिक एवं सांस्कृतिक केन्द्रमा जारी ‘न्यूयोर्क स्वस्थानी महोत्सव–२०२६’ ले उल्लेखनीय आर्थिक तथा सामुदायिक उपलब्धि हासिल गरेको छ। जनवरी ३ बाट सुरु भएको यो एकमहिने आध्यात्मिक तथा सांस्कृतिक महोत्सवमार्फत मन्दिर स्थापना र दीर्घकालीन सञ्चालनका लागि हालसम्म दुई लाख अमेरिकी डलरभन्दा बढी दान संकलन भएको छ। दाताहरुको विवरण हेर्न यहाँ क्लीक गर्नुहोला ।
फेब्रुअरी १ सम्म सञ्चालन हुने यस महोत्सव न्यूयोर्कमा निर्माणाधीन नेपाली मन्दिर तथा सामुदायिक–सांस्कृतिक केन्द्र निर्माण र स्तरोन्नतिको उद्देश्यले आयोजना गरिएको हो। सार्वजनिक गरिएको विवरणअनुसार स्वस्थानी महोत्सवमार्फत मात्रै करिब एक लाख एकचालीस हजार पाँच सय अमेरिकी डलरभन्दा बढी रकम संकलन भएको छ। यसका अतिरिक्त विभिन्न शीर्षकअन्तर्गत प्राप्त दानसमेत जोड्दा कुल संकलन दुई लाख अठार हजार अमेरिकी डलरभन्दा माथि पुगेको छ।

रिजउड नेपाली समाजको आयोजनामा सञ्चालन भइरहेको ‘दिनको एक डलर सहयोग’ सामुदायिक अभियानले छोटो अवधिमै उत्साहजनक गति लिएको छ। यस अभियानअन्तर्गत सहभागीहरूले महिनाभर प्रतिदिन एक डलर बराबरको रकम सहयोग गर्नेछन्।दिनको एक डलर अभियानमा जोडिनेहरुको विवरण हेर्न यहाँ क्लीक गर्नुहोला ।
रिजउड नेपाली समाजले ‘दिनको एक डलर सहयोग’ नारासहित मन्दिर तथा सामुदायिक–सांस्कृतिक केन्द्रको दीगो सञ्चालनका लागि दीर्घकालीन कोष निर्माण गर्ने उद्देश्यले डिजिटल तथा प्रत्यक्ष दुवै माध्यमबाट अनलाइन नाम दर्ता सुरु गरेको हो। आर्थिक पारदर्शिता सुनिश्चित गर्न संस्थाले सहयोग रकम तथा भुक्तानी अवधिसहितको विवरण सार्वजनिक गरेको छ। सो विवरणअनुसार असीभन्दा बढी दाताले प्रत्येक महिना एकतीस डलरसम्म नियमित सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् भने केही दाताले महिनाको दस डलरबाट सुरु हुने योजना रोजेका छन्।

स्वस्थानी महोत्सवमार्फत न्यूयोर्कभर रहेका दर्जनौँ संघ–संस्था तथा व्यक्तिगत दाताले सहयोग गरेको रिजउड नेपाली समाजले जनाएको छ। तीमध्ये लङ आइल्याण्ड नेपाली सोसाइटी न्यूयोर्कले मात्रै पाँच हजार दुई सय उनासी (५,२७९) अमेरिकी डलर सहयोग गर्दै शीर्ष दातामध्ये अग्रस्थान ओगटेको छ। लङ आइल्याण्ड नेपाली सोसाइटीलाई ‘फाउन्डिङ सिल्भर ट्रस्टी’ घोषणा गरिएको छ।
स्वस्थानी महोत्सवमा थप दाता तथा परिवारहरू ‘फाउन्डिङ सिल्भर ट्रस्टी’ मा आवद्ध भएका छन्। नयाँ फाउन्डिङ सिल्भर ट्रस्टीहरूमा लङ आइल्याण्ड नेपाली सोसाइटी, न्यूयोर्कका साथै पुरुषोत्तम पन्थी/मीना पन्थी परिवार, सुजन श्रेष्ठ/मोनिका श्रेष्ठ परिवार, प्रियंका गौतम, प्रदीप खिम्दुङ/सजना योङहाङ परिवार, बिनोद सुवेदी/सुनीता सुवेदी परिवार, रमेश श्रेष्ठ/योगिता श्रेष्ठ परिवार तथा थम्मन बस्नेत/माया भुसाल बस्नेत परिवार रहेका छन्।

यसैगरी, केही दाता तथा परिवारहरू ‘गोल्डेन फाउन्डिङ ट्रस्टी’ मा स्तरोन्नति भएका छन्। गोल्डेन फाउन्डिङ ट्रस्टीमा पण्डित उद्दव शास्त्री/गायत्री बजगाईं परिवार, डा. सुख गुरुङ/मीरा गुरुङ परिवार तथा देवी लाल पाण्डे/किरण चन्द परिवार आवद्ध भएका छन्।
समाजका कार्यक्रम संयोजक अमित प्रताप शाहका अनुसार लङ आइल्याण्ड नेपाली सोसाइटीको यो प्रतिबद्धताले समावेशीता, सहकार्य र सामुदायिक एकताको वास्तविक उदाहरण प्रस्तुत गरेको छ। उनका अनुसार यस सहयोगले फरक–फरक छिमेक र पुस्तामा रहेका नेपाली संस्थालाई साझा दृष्टि र उद्देश्यअन्तर्गत एउटै मञ्चमा जोड्ने काम गरेको छ।

यस क्रममा विभिन्न क्षेत्रका नेपालसम्बद्ध क्लब, पेशागत समूहदेखि परिवारस्तरसम्मका दाताहरू सक्रिय रूपमा अभियानमा जोडिँदै गएका छन्। यसले न्यूयोर्कस्थित नेपाली समुदायबीच सहकार्य, साझा स्वामित्व र सांस्कृतिक पहिचान जोगाउने सामूहिक भावना झल्काएको संस्थाको भनाइ छ।
रिजउड नेपाली समाजले दुर्गा मन्दिर तथा सामुदायिक–सांस्कृतिक केन्द्रलाई केवल धार्मिक संरचना मात्र नभई आस्था, संस्कृति, सेवा र पहिचानको साझा घरका रूपमा विकास गर्ने लक्ष्य पुनः दोहोर्याएको छ। समाजका अनुसार हाल देखिएको आर्थिक प्रतिबद्धता र सामुदायिक एकताले वर्तमान पुस्तासँगै भविष्यका सन्ततिका लागि नेपाली भाषा, संस्कृति र परम्परा जोगाउने आधारभूत पूर्वाधार निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको छ।

यो महोत्सव सबै अमेरिकी नेपाली समाज, मिडियाकर्मी, पेशाकर्मी तथा व्यवसायीहरूको सहयोगले मात्र सम्भव भएको स्वस्थानी महोत्सवका आउटरिच तथा पीआर संयोजक परसु राम पन्थीले बताएका छन्। उनका अनुसार अब यो एउटा समाजको मात्र नभई न्यूयोर्क तथा न्यूयोर्कबाहिर रहने सबै नेपालीहरूको मुख्यालयका रूपमा स्थापना गर्ने परिकल्पना गर्नुपर्ने आवश्यकता छ। साथै, मन्दिरका संस्थापक सदस्य यही महोत्सवसम्म मात्र रहेकाले छुटेका सबैलाई जोडिन उनले आग्रह गरेका छन्।







