क्यानडाले काठमाडौँमा दूतावास खोल्नुपर्ने राजदूत पौड्यालको जोड


प्रकाशित मिति : माघ ५, २०८२ सोमबार

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले नेपाल र क्यानडाबीचको बढ्दो सम्बन्ध र अहिलेको आवश्यकतालाई ख्याल गर्दै क्यानडाले नेपालमा दूतावास खोल्नुपर्ने बताएका छन्।

क्यानडा र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६१औँ वार्षिकोत्सवका अवसरमा टोरन्टोमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत पौड्यालले काठमाडौँमा क्यानडाको दूतावास स्थापना भएमा दुई देशबीचको सम्बन्ध थप सबल हुने बताए। क्यानडामा रहेका नेपाली विद्यार्थी र समुदाय नेपाल-क्यानडाबीचको बलियो स्तम्भ भएको पनि उनले उल्लेख गरे।

नेपालीहरूले क्यानडाको आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा अर्थपूर्ण योगदान पुर्‍याउँदै आफ्नो पहिचान जोगाइराखेको धारणा राजदूत पौड्यालले व्यक्त गरे।

त्यस अवसरमा उनले दुई देशबीच आर्थिक र प्राविधिक सहयोगका प्रमुख क्षेत्रहरू पनि औँल्याए। व्यापारमा विविधीकरण (नेपाली उत्पादनहरू चिया, कफी, पस्मिना आदिको क्यानडामा बजार विस्तारको सम्भावना), स्वच्छ ऊर्जा अन्तर्गत क्यानडाको जलविद्युत् विशेषज्ञता र नेपालको जलस्रोत क्षमताबीचको तालमेल, र साझा मूल्य-मान्यता (लोकतन्त्र, मानव अधिकार र जलवायु परिवर्तन जस्ता विश्वव्यापी मुद्दामा समान धारणा) बाट दुवै देशले लाभ लिन सक्ने उनको भनाइ थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना हुनुअघि नै क्यानडा नेपालको मूल्यवान् विकास साझेदार रहेको स्मरण गर्दै राजदूत पौड्यालले नागरिक उड्डयन, शिक्षा, स्वास्थ्य र जलस्रोत व्यवस्थापनमा क्यानडाको सहयोगको प्रशंसा समेत गरे। सन् २०१५ को भूकम्प र कोभिड–१९ को समयमा क्यानडाले गरेको सहयोगप्रति उनले क्यानडा सरकारलाई धन्यवाद दिएको ओटावास्थित नेपाली दूतावासले जनाएको छ।

सन् १९६५ जनवरी १८ मा नेपाल र क्यानाडाबीच कुटनीतिक सम्बन्ध स्थापना भएको थियो भने सन् २००९ अक्टोबर १ मा नेपालले क्यानाडाको ओटावामा राजदूतावास खोलेको थियो ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com