८ मार्चमा निशुल्क प्याड दिइने


प्रकाशित मिति : फाल्गुन २०, २०७४ आईतबार

–महिला खबर–

ललितपुर । १०८ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा तराईका दुई जिल्लामा निःशुल्क सेनेटरी प्याड वितरण गरिने भएको छ ।

महिला युवा नेपालले तराई–मधेशका जिल्ला बारा र रौतहटका सरकारी विद्यालय, क्याम्पस तथा विकट गाउँहरू निःशुल्क प्याड वितरण गर्न लागेको हो ।

महिला युवा नेपालकी अध्यक्ष सन्ध्या बिडारीले महिलाको यौन तथा प्रजनन् स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने सेनेटरी प्याड बारे किशोरी तथा महिलाहरूलाई सचेत गराउन निःशुल्क प्याड वितरण गर्न लागेको बताइन् ।

महिनावारी हुनु महिला सन्तान जन्माउन योग्य भएको कुराको प्रमाण भए पनि अधिकांश नेपालीले महिनावारीलाई पापको रुपमा बुझ्ने गरेको भन्दै महिनावारी हुने महिलाको सम्मानका लागि सन्देश स्वरुप प्याड वितरण गर्न लागेको पनि अध्यक्ष बिडारीले बताइन् ।

अभियन्ता साबित्री सुवेदीले खास गरेर बारा र पर्साका भित्री गाउँहरूमा प्रजनन् स्वास्थ्य सम्बन्धी चेतनाको अभाव रहेको बताइन् । महिला तथा किशोरीहरूलाई महिनावारीका बेला अपनाउनु पर्ने स्वास्थ्य सजगताका बारेमा घच्घच्याउन पनि निशुल्क सेनेटरी प्याड वितरण गर्न लागेको महिला खबरलाई बताइन् ।

सो अवसरमा महिलाहरूलाई सूचनाको हकका बारेमा पनि जानकारी गराउने महिला युवा नेपालले जनाएको छ ।

युवा महिला नेपालले अहिले काठमाडौंमा सेनेटरी प्याड संकलन अभियान थालेको छ । संस्थाले सेनेटरी प्याड वितरणमा सहकार्यका लागि अन्य व्यक्ति तथा संस्थालाई समेत आग्रह गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com