संघीय समाजवादी फोरम सरकारमा सहभागी हुने संकेत


प्रकाशित मिति : फाल्गुन १०, २०७४ बिहीबार

संघीय समाजवादी फोरम नेपालले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वाम गठबन्धन सरकारमा सहभागी हुने संकेत देखाएको छ ।

उक्त दलले संविधान संशोधनको मूल मुद्दा सुनिश्चित भए वर्तमान सरकारमा सहभागी हुने आशय पनि व्यक्त गरेको छ । सरकारमा सहभागिताबारे पछिल्ला दिनमा चलिरहेका विभिन्न चरणका छलफल सकारात्मक भए पनि सहभागिताको अझै टुंगो लागेको छैन ।

सरकारमा सहभागी हुने सम्बन्धमा बुधबार भएको दुई पक्षीय छलफल निकै सकारात्मक भएपनि संविधान संशोधनको विषय राजनीतिक निर्णयकै रुपमा अगाडि आए अझ विश्वासको वातावरण बन्ने फोरमको बुझाइ छ ।

सरकारमा सहभागी हुनेबारे पछिल्लो चरणमा शृंखलाबद्ध छलफल भएको र ती छलफल सकारात्मकढंगले अघि बढेको समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले राससलाई बताउनुभयो ।

संविधान संशोधनको विषयमा प्रधानमन्त्री ओलीको आधिकारिक धारणा सार्वजनिक भए सरकारमा आफूहरू पनि सामेल हुने उहाँको भनाइ छ । “सरकारमा सहभागिताबारे हिजोदेखि प्रारम्भिक छलफल शुरु भएको छ । हाम्रो मुख्य मुद्दा संविधान संशोधन नै हो यसमा राजनीतिक निर्णय र समझदारी भई कार्यान्वयन गर्ने अवस्था देखिए सरकारलाई सहयोग गर्छौं,”– अध्यक्ष यादवले भन्नुभयो ।

विगतमा भएका समझदारी कार्यान्वयन नहुने अवस्था रहने हो भने बेइमानीपूर्ण हुने र त्यस्तो सम्झौताको औचित्य नहुने समाजवादी फोरमको धारणा छ ।

संविधान संशोधनबारे राजनीतिक समझदारी भएको खण्डमा तपाईहरु सरकारमा जान सहमत हुनुहुन्छ भन्ने जिज्ञासामा अध्यक्ष यादवले आफूहरूले उठाएका मुद्दामा इमान्दारी भए सरकारमा जाने नत्र बाहिर बसेर पनि सरकारलाई समर्थन गर्ने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो– “विगतमा सत्तामा जानका लागि फोस्रो सहमति गरेर सत्ताको भ¥याङ बनेका थुप्रै उदाहरण छन् तर अबको सम्झौतामा इमान्दारी हुन जरुरी छ सरकारको अंशियार नभए पनि बाहिरबाट सरकारलाई सहयोग गर्नसक्छौँ सहभागिताका लागि संशोधनका मुद्दामा स्पष्ट हुनुपर्छ ।”

समाजवादी फोरमले संविधान जारी भएदेखिनै केही मुद्दामा असन्तुष्टि व्यक्त गर्दै आएको छ । उक्त दलले संविधान संशोधनअन्तर्गत, प्रदेश संरचना, नागरिकताका सवालमा मधेशी जनताको भावना सम्बोधन हुनुपर्ने अडान लिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com