चीनसँग गहिरो सम्बन्ध बनाएर भारतसँग अधिक फाइदा लिन्छौं : प्रधानमन्त्री ओली


प्रकाशित मिति : फाल्गुन ८, २०७४ मंगलबार

नेपालका नयाँ प्रधानमन्त्री केपी ओलीले चीनसँगको सम्बन्धलाई प्रगाढ बनाउने अवसर खोज्ने र भारतसँगको सम्झौताबाट अधिक फाइदा लिने बताएका छन् । चीनतर्फ झुकाव राख्ने ओलीले बदलिँदो समयसँगै भारतसँगको सम्बन्धमा पनि आफूले परिवर्तन चाहेको बताएका छन् ।

ओली नेपाल र भारतबीचको सम्बन्धका सबै आयाममा समीक्षा गर्ने पक्षमा छन् । भारतीय सेनामा नेपाली जवानहरूले सेवा दिने गरेको लामो परम्परालाई पनि उनी समीक्षा गर्न चाहन्छन् ।

हङकङबाट प्रकाशित हुने साउथ चाइना मर्निङ पोस्ट पत्रिकालाई दिएको अन्तर्वार्तामा नेकपा–एमाले अध्यक्ष ओलीले भने, ‘भारतसँग हाम्रो गजबको सम्पर्क छ, खुला सिमाना छ । हामी थप कनेक्टिभिटी बढाउँछौं । तर हाम्रा दुई
छिमेकी छन् भन्ने हामीहरूले बिर्सनु हुँदैन । हामी कुनै एक देशमा निर्भर रहन चाहँदैनौं । एकमात्र विकल्पमा हामी अडिँदैनौं ।

भारतसँगको सम्बन्ध कसरी अगाडि बढाउन चाहनुुहुन्छ भन्ने प्रश्नमा ओलीले भने, ‘भारतसँग हाम्रो सम्बन्ध पहिलेदेखि नै बलियो छ । भारतमा केही तत्त्वले भ्रम छरेको भएपनि भारतीय नेताहरूले भविष्यमा कुनै हस्तक्षेप नगरिने र
सार्वभौम मुलुकको अधिकारलाई सम्मान गरिने आश्वासन दिएका छन् ।’

भारतीय सेनामा नेपालीहरूलाई सेवा दिने मुद्दामा ओलीले भने, ‘आवश्यकता भयो भने यस विषयमा आन्तरिक रूपमा चर्चा गरिनेछ र सुधार हुनेछ । संसार अहिले बदलिसकेको छ र नेपाल नयाँ यात्राको शुरूवात गर्दैछ । पुराना
परम्परामा हिँड्नुभन्दा परिवर्तन गर्नमा हाम्रो जोड हुनेछ ।’

ओलीले देउवा सरकारद्वारा रद्द गरिएको चीन सरकारसँगको जलविद्युत् परियोजनालाई पुनरुत्थान गर्ने पनि बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com