Follow @khasokhasmag

कपिलवस्तुमा नेपाल बन्दको आंशिक प्रभाव, विप्लवका ६ कार्यकर्ता पक्राउ


प्रकाशित मिति : फाल्गुन ८, २०७४ मंगलबार

फागुन ८, तौलिहवा । विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको आंशिक प्रभाव कपिलवस्तुमा परेको छ। बिहानैदेखि पूर्वपश्चिम राजमार्गमा सवारी साधन चलेका छैनन् भने भित्री सडकमा छिटफुट मात्र सवारी साधन चलेका छन्।

सवारी साधन नचल्दा कृष्णनगर नाकाको प्रयोग गरी रोजगारीका लागि भारत जाने यात्रु बीच बाटोमै अलपत्र परेका छन्। जिल्लाका मुख्य बजार सदरमुकाम तौलिहवा, जितपुर चारनम्बर, गोरुसिंगे, चन्द्रौटा, बहादुरगञ्ज, कृष्णनगर सुनसान जस्तै बनेका छन्। शिक्षण संस्था पनि ठप्प भएका छन् भने उद्योगधन्दा पनि बन्द छन्।

बन्दको पूर्व सन्ध्यामा सोमबार मसाल जुलुसमा सहभागी नेकपाका जिल्ला नेता सन्तोष परियारसहित ६ जनालाई प्रहरीले बोर्डगाउँबाट पक्राउ गरेको छ। बन्दमा प्रेस, मानवअधिकार, एम्बुलेन्सका सवारीसाधन चल्न दिने नेकपाले बताएको छ।

बन्दकर्ताहरु सडकमा नदेखिए पनि बन्दको हल्लैहल्लाले सर्वसाधारण दोधारमा परेका छन्। बन्दले गर्दा राष्ट्रिय योजनाका विकास निर्माणका काम प्रभावित भएका छन् भने मजदुरहरु पनि बन्दको प्रत्यक्ष मारमा परेका छन्।

यता जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव उपरीक्षक नरेन्द्र कार्कीले शान्ति सुरक्षा खलल पुर्‍याउने जो कोहीलाई पनि कानुनी कारवाही गर्ने बताएका छन्।

 

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com