मानिस र वन्यजन्तु एकैस्थानमा बस्न मिल्ने भवन बनाउने योजनामा जापान


प्रकाशित मिति : फाल्गुन ७, २०७४ सोमबार

जापानका गगनचुम्बी भवनहरुमा ३३३ मिटर अग्लो टोकियो टावर र विश्वकै अग्लो ६३४ मिटरको टोकियो स्काइट्री रहेका छन् । तर अव जापानको शहरी क्षेत्रमा एउटा नयाँ आकतिको निर्माण हुने भएको छ ।

उक्त आकृति यसको उचाइले मात्र नभएर यसमा प्रयोग गरिने सामाग्रीका कारणले समाचारको मुख्य अंश बनिरहेको छ । जापानको सुमितोमो फरेस्ट्री कम्पनीले स्थापनाको ३५० औँ वार्षिकी अवसरमा २०४१ मा सम्पन्न गर्ने योजनासहित ३५० मिटर अग्लो ‘डब्लु ३५० परियोजना’ नामक नयाँ भवन निर्माणको योजना सार्वजनिक गरेको छ । उक्त कम्पनी १६९१ मा स्थापना भएको बताइएको छ । निर्माणको संसारमा वातावरणमैत्री प्रविधिको लक्ष्यका साथ सुमितोमोको सुकुबा रिसर्च प्रयोगशालाले प्रस्ताव गरेको उक्त नयाँ भवनमा दक्षताको स्तर र इन्जिनियरिङ अहिलेको भवनको तुलनामा निकै भव्य हुने कम्पनीले बताएको छ ।

काठ र स्टिललाइ ९ः१ को अनुपातमा मिसाएर निर्माण गरिने उक्त भवन निक्केन सिक्केइसंगको सहकार्यमा निर्माण गरिने बताइएको छ । उक्त भवन उच्च गतिको तुफान र भुकम्प प्रतिरोधि हुनेगरी निर्माण गरिने जनाइएको छ । उक्त भवन ७० तलाको हुनेछ जसमा पसल , कार्यालय , होटेल , आवास क्षेत्र , हरियालीपूर्ण बाल्कोनी र भवनकोआसपास वन्यजन्तु पनि रहने गरी निर्माण गरिने छ । ६० खर्ब येनको लागतमा निर्माण सम्पन्न भएपछि उक्त भवन जापानको सवैभन्दा अग्लो काठको आकृति तथा जापानकै अग्लो कृत्रिम आकृति पनि हुनेछ र यो अहिलेको अग्लो भवन ओशाकाको एबेनो हारुकासभन्दा ५० मिटर अग्लो हुनेछ ।

उक्त कम्प्लेक्स टोकियो स्टेशन नजिकै निर्माण गरिने बताइएको छ । उक्त परियोजनाले सिमेन्टलाइ विस्थापित गर्ने र कार्बन डाइअक्साइडको मात्रा घटाउँदै शहरमा वातावरणमैत्री भवनहरु निर्माण गर्ने लक्ष्य लिएको छ । उक्त काठको आकृति मानव र वन्यजन्तु एकैसाथ रहन सक्ने गरी निर्माण गर्ने कम्पनीको योजना रहेको छ र यसले जैविक विविधतालाइ संरक्षण गर्ने बताइएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com