भ्रमको खेती बढी भयो : प्रधानन्यायाधीश पराजुली


प्रकाशित मिति : फाल्गुन ७, २०७४ सोमबार

प्रधानन्यायाधीश गोपाल पराजुलीले न्यायालय र मिडिया सत्यताको उजागर गर्न बनेका फरकफरक संस्था भएको बताएका छन्।

बाल सुधार गृह सानोठिमिले आयोजना गरेको एक कार्यक्रममा सोमबार उनले न्यायालय र मिडियाको कार्यशैली फरक भएपनि लक्ष्य सत्यको खोजी भएको उल्लेख गर्दै एकअर्कालाई निषेध गरेर समाज परिवर्तन हुन नसक्ने धारणा पनि राखे।

आफूलाई अहम र ठूलो ठान्नेहरू नै असभ्यताको खेती गरिरहेको समेत उनले बताए।

‘जो कोही होस सभ्यता तर्फ उन्मुख हुनलाई अश्लिलता त्याग्नुपर्छ। अर्काका बारेमा बढी नै भ्रामक सूचना सम्प्रेषण हुन थालेको  छ। राज्यलाई घचघचाउने संस्थाले आफ्नो विशेषता आफैँ गुमाउन हुँदैन,’ उनले भने।

प्रधानन्यायाधीश पराजुलीका सरकारी कागजातमै ४ वटा उमेर खुलेपछि र एसएलसीको प्रमाणपत्र पनि कीर्ते गरेको प्रष्ट हुँदै गएपछि उनले दिएको यो सार्वजनिक मन्तव्य  हो।

‘कसैलाई केही लागेको कुरा भन्छ छुट होला तर ति सबै सत्यता र शिष्टतामा आधारित हुनुपर्छ,’ उनले भने।

आफू प्रधानन्यायाधीश भएपछि न्यायसम्पादनमा इतिहासमै सबैभन्दा धेरै प्रगति भएको पनि दाबी गरे। आफू नेतृत्वमा आएपछि नियमावली ल्याउन सफल भएको र यसले अतिरिक्त समय इजलास सञ्चालन हुँदा महत्वपूर्ण सफलता हासिल भएको उनको भनाइ छ। डेढ वर्षसम्म अवरुद्ध रहेको संवैधानिक इजलास नियमित सञ्चालन गरेर संवैधानिक विवादका विषयहरू निरन्तर निरुपण भइरहेको, बालबालिका, जेष्ठ  नागरिक, अपाङ्गता भएका व्यक्तिहरू लगायतका मुद्दालाई विशेष प्राथमिकतामा राखेर सुनुवाइ गरिरहेको जानकारी दिए।

‘तर न्यायालयमा भएका राम्रा र सुधारका कामको अनुहार हेर्नै नसक्ने व्यक्तिहरू निच तरिकाले प्रस्तुत भएर भ्रमको खेती  गरिहेका छन्,’ प्रधान्यायाधीश पराजुलीले भने।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com