ओली-प्रचण्डको छाती छाम्न भारतीय बिदेशमन्त्री आए : चित्रबहादुर केसी


प्रकाशित मिति : फाल्गुन ५, २०७४ शनिबार

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघियता खारेजीको बिकल्प नरहेको बताउनुभएको छ ।
प्रगतिशिल पत्रकार संघले आज बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष केसीले नेपाली भुमिले संघियता धान्नै नसक्ने भएकाले संघियतालाई जति सक्दो छिटो खारेज गर्नुपर्ने बताउनुभयो । उहांले बिदेशीको ईशारामा नेपालमा संघियता ल्याईएको दाबी गर्दै नेपालमा प्रजातान्त्रिक बिकेन्द्रीकरण सहितको ब्यवस्था उपयुक्त हुने बताउनुभयो ।

एमाले माओबादी गठबन्धनको सरकारलाई जनमोर्चाको समर्थन रहेको उल्लेख गर्दै केसीले राष्ट्रियताका सवालमा गठबन्धनले लिएको अडान प्रशंसायोग्य रहेको टिप्पणी गर्नुभयो । बाम गठबन्धनले नजितेको भए नेपालमा प्राप्त गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रियता खतरामा पर्ने निश्चित रहेको उहांको ठहर छ ।

पत्रकारहरुको प्रश्नको जवाफ दिंदै अध्यक्ष केसीले माओबादीको २१ औ शताब्दीको जनबाद र एमालेको बहुदलिय जनबाद सारमा एउटै भएको टिप्पणी समेत गर्नुभयो । सहकार्य भएपनि एमाले माओबादीसंग जनमोर्चाको एकताको संभावना नरेको केसीले बताउनुभयो ।

भारतीय रबैया नेपालमा अहिले पनि कायम रहेको टिप्पणी गदै उहांले ओली र प्रचण्डको छातीको धड्कन छाम्न बिना निम्तो भारतीय बिदेशमन्त्री नेपाल आएको बताउनुभयो । नेपालमा सम्पन्न निर्वाचनमा भारतले हारेका चर्चा गर्दै केसीले भारत बिभिन्न बहानामा अहिले पनि प्रभुत्व कायम गर्न कोशिस गरिरहेको बताउनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com