७ लाख खर्च गरेर प्याराग्लाइडिङ परीक्षण, परीक्षणमै सिमित !


प्रकाशित मिति : फाल्गुन ५, २०७४ शनिबार

मनिष खड्का रुकुम(पश्चिम) | रुकुममा गत वर्षको कात्तिकमा पहिलो पटक प्याराग्लाइडिङ परीक्षण गरियो । पोखराबाट सुवास थापा नेतृत्वमा पाइलट ल्याएर जिल्लाका विभिन्न ठाउँमा ४ दिन लगाएर प्याराग्लाइडिङको परीक्षण गरियो ।

करिब ७ लाख खर्च गरेर मुसिकोट नगरपालिका १ को जन्ती बस्ने लेक र रुकुमकोटको खातिडाँडामा प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन गर्न प्यारासुट उडाइँयो । जन्ती बस्ने लेकमा कात्तिक २८ र २९ गते तथा रुकुमकोटमा ३१ गते प्याराग्लाइडिङको परीक्षण गरिएको थियो ।

उक्त २ ठाउँमा गरिएको परीक्षणलाई सफल भएको बताइएको थियो । बाँफिकोटमा पनि प्याराग्लाइडिङको परीक्षण गर्ने भनिएकामा सफल हुन सकेको थिएन् ।

बाँफिकोट गाउँपालिकामा प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन गर्न प्याराग्लाईडिङको परीक्षण गर्दै स्विजरल्याण्डका नागरिक डानियल मायर ।
त्यसको १ वर्षपछि फेरी उक्त ठाउँमा प्याराग्लाइडिङको परीक्षण गरियो । यो वर्ष आफ्नै तरिकाले घुम्न आएका स्विट्जरल्याण्डका नागरिक डानियल मायरको सहयोग लिएर प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन भइरहेको छ । अघिल्लो वर्ष सफल भनिएको मुसीकोटको जन्ती बस्ने लेकमा यो वर्ष पनि परिक्षण सफल भएको भनिएको छ ।

अघिल्लो वर्ष असफल भनिएको बाँफिकोटमा यो वर्ष परिक्षण सफल भएको पर्यटन प्रवद्र्धन तथा वातावरण संरक्षण केन्द्रका अध्यक्ष चन्द्रबहादुर केसीले जानकारी दिए । उनका अनुसार बाँफिकोटको काँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण गरिएको हो । त्यस्तै रुकुमकोटमा यो वर्ष पनि प्याराग्लाईडिङको परिक्षण गरिने अध्यक्ष केसीले बताए ।

वर्षैसम्म परीक्षण मात्रै किन ?

अघिल्लो वर्ष प्याराग्लाइडिङको परीक्षण गरेको टोलीले जिल्लामा प्याराग्लाइडिङको राम्रो सम्भावना रहेको र केहि भौतिक संरचना निर्माण गरेमा नियमित प्याराग्लाइडिङ गर्न सकिने बताएको थियो । त्यतिबेलाको टोलीले रन वे र अवतरण स्थलको आवश्यकता औँल्याएको थियो ।

त्यसबेला मुसीकोटको जन्तिबस्ने लेकबाट उडेर सल्ले एयरपोर्टमा अवतरण गरियो । तर एयरपोर्ट सधँै अवतरण स्थलकारुपमा प्रयोग गर्न नमिल्ने भएकाले अन्यत्र कतै अवतरण स्थलको व्यवस्था हुन सकेमा नियमित उडान गर्न सकिने टोलीको नेतृत्व गरेका पाइलट सुवास थापाले बताएका थिए ।

तर त्यसको वर्ष दिनसम्म न ‘रन वे’ निर्माण गरियो न ‘अवतरण स्थल’ नै । आवश्यक भौतिक संरचना नबनाई पुनः परिक्षण थालिएको छ ।

पर्यटन प्रवद्र्धन तथा वातावरण संरक्षण केन्द्रका अध्यक्ष केसीले यसपटकको परीक्षणले जिल्लामा नियमितरुपमा प्याराग्लाइडिङ गर्न थप सहयोग पुग्ने दाबी गरे । ‘अघिल्लो वर्ष पहिलो चरणको सम्भाव्यता अध्यन भएको थियो, उनले भने–यो वर्ष थप बढी अध्ययन भइरहेकाले अब कुन ठाउँमा रन वे बनाउँने र कुन ठाउँमा अवतरण स्थल बनाउँने भन्नेमा सहयोग पुग्ने छ ।’

एक पटकको मात्र परीक्षणले नपुग्ने भएकाले यो वर्षपनि अध्ययन थालिएको उनले बताए । त्यस्तै, सरोकारवाला निकायले पर्यटनको ‘प’ समेत उच्चारण गर्न नचाहेकाले पनि प्याराग्लाइडिङका लागि आवश्यक पर्ने संरचना निर्माण हुन नसकेको उनले गुनासो गरे ।

परीक्षण सफल भएदेखि नै आवश्यक संरचना निर्माणका लागि विभिन्न ठाउँमा पहल गरेपनि कसैले यसमा चासो नदिएको उनले बताए ।

अहिले पनि सबै स्थानीय तहमा प्रपोजल बुझाएको र आवश्यक सहयोग भएमा छिट्टै नियमितरुपमा प्याराग्लाइडिङ सुरु हुने उनको दाबी छ । रुकुमभन्दा पछाडि परिक्षण गरिएका जिल्लामा नियमित प्याराग्लाइडिङ भइरहेको भएपनि रुकुममा अझैँ प्याराग्लाइडिङ सुरु हुन नसक्नु दुःखद भएको उनले बताए । पोखराबाट उडेर सिधा रुकुम पुग्न सकिने र यहाँबाट पनि उडेर सिधा पोखरा पुग्न सकिने भएकाले पनि जिल्लामा प्याराग्लाइडिङको सम्भावना राम्रो रहेको बताइन्छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com