घरजग्गाको मूल्य अकासियो


प्रकाशित मिति : ४ फाल्गुन २०७४, शुक्रबार

ग्रामीण क्षेत्रका बजारलाई केन्द्र बनाएर सरकारले तेह्रथुमका स्थानीय तहको पुनर्संरचना गरेपछि घरजग्गाको मूल्य अकासिएको छ । गाउँपालिका केन्द्र तोकिएका स्थान र आसपासका क्षेत्रमा हाल घर–घडेरीको किनबेच र घर निर्माण कार्य तीव्र रूपमा हुन थालेका छन् । फलस्वरूप जग्गा र घर घडेरीको मूल्य पहिले भन्दा दोब्बर-तेब्बरले बढेको छ ।

पुनर्संरचनापछि सदरमुकाम म्याङ्लुङमा मात्रै केन्द्रित भएको सरकारी सेवा सुविधा गाउँगाउँमा रहेका बजारसम्म पुगेको छ । केही महिनाअघिसम्म असुविधायुक्त भनिएका बजारहरू नै अहिले सेवाग्राहीको गन्तव्य बनेका छन् । केन्द्र तोकिएका बजारमा चहल पहल बढ्दो छ । ती बजारमा घरजग्गाको कारोबारसमेत अकासिएको छ ।

कुनै सम्भावना नभएको ठहर गरिएका गाउँका बजारमै निकै शक्तिशाली स्थानीय सरकारका कार्यालयहरू स्थापना हुन थालेपछि गाउँबासी उत्साहित छन् । गाउँका बजारमा दिनदिनै घर जग्गा किनबेच र निर्माण हुन थालेका छन् । यसअघि पाइने मूल्यको दोब्बर दिँदा पनि स्थानीयले घर घडेरी बिक्री गरेका छैनन् ।

सरकारले जिल्लामा छ स्थानीय तह कायम गर्दै छ वटा बजारलाई केन्द्र तोकेको छ । जसमध्ये म्याङलुङ नगरपालिकाको केन्द्र म्याङलुङ बजार, लालीगुराँस नगरपालिकाको केन्द्र वसन्तपुर, छथर गाउँपालिकाको केन्द्र शुक्रबारे, फेदाप गाउँपालिकाको केन्द्र पोक्लाबाङ, मेन्छेयाम गाउँपालिकाको केन्द्र मोराहाङ र आठराई गाउँपालिकाको केन्द्र संक्रान्तिबजार तोकिएका छन् ।
शुक्रबारे, मोराहाङ, पोक्लाबाङ र संक्रान्ति बजारमा स्थानीय गाउँपालिकाको केन्द्र रहने भएपछि घर जग्गाको मूल्य अकासिएको हो । स्थानीय सरकारको केन्द्र तोकिएपछि ग्रामीण बजारमा घरजग्गाको मूल्य अकासिएको जिविसका पूर्वउपसभापति तेजमान कन्दङ्वाले बताए ।

केही वर्षअघिसम्म ६ लाख रुपैयाँमा घरै खरिद गर्न पाइने संक्रान्तिबजारमा अहिले एउटा घडेरीकै मूल्य १५ लाख रुपैयाँभन्दा बढी पर्न थालेको छ । अझ स्थानीय तहको केन्द्र तोकिएपछि पहिले भन्दा दोब्बरले कारोबार वृद्धि भएको कन्दङवाले बताए । संक्रान्तिबजारमा जस्तै अन्य छ वटै बजारमा घर जग्गाको मूल्य अकासिएको छ ।
यस अवधिमा सदरमुकामसँगै जिल्लाका जिरीखिम्ती, लसुने, चित्रे, चुहानडाँडा, हलिमेलालगायत बजार क्षेत्रमा समेत घरघडेरीको मूल्य वृद्धि भएको छ । पछिल्लो समय यी स्थानमा बसोबासको चाप बढेको र भौतिक सेवा सुविधासमेत थपिँदै गएकाले घरघडेरीको मूल्य बढेको व्यवसायी टिका खुलालले बताए ।

यसअघि सदरमुकाम म्याङलुङ र पर्यटकीय बजार वसन्तपुरमा घरघडेरी किन्नेको चाप निकै बढेको थियो । तर, सरकारले जिल्लाको पुनर्संरचना गरेर सेवा सुविधा गाउँ तहसम्म नै पु¥याउने नीति लिएपछि दूरदराजका बस्ती र चोकमा समेत जग्गाको मूल्य अकासिएको नागरिक समाजका अध्यक्ष तुलसी संग्रौला बताउँछन् ।
राज्यले प्रदान गर्ने धेरैजसो सेवा सुविधा गाउँ तहसम्म नै पु¥याउने भएपछि सरमुकामको चाप अब गाउँतर्फ सरेको जिल्ला मालपोत कार्यालयका प्रमुख मालपोत अधिकृत विजय इनामले बताए । सेवा सुविधा विकेन्द्रित भएपछि अब गाउँ र नगरका केन्द्रमा भूमिमाथि चाप बढी पर्ने उनको भनाइ छ ।

केन्द्र तोकिएका स्थानमा अब सरकारले सडक, बिजुली, खानेपानी, ढल निकास, टेलिफोनलगायतका थुप्रै सेवा सुविधाको विस्तार गर्ने भएकाले पनि ग्रामीण क्षेत्रका बासिन्दाको चाप हालैदेखि नै यस्ता स्थानमा पर्न थालेको संक्रान्तिका भोला काफ्ले बताउँछन् ।
पर्यटकीय बजार वसन्तपुरमा सरकारले आगामी २० वर्षभित्रमा १ लाख जनसंख्या राख्ने तयारीका साथ नयाँ सहर घोषणा गरेर पूर्वाधार निर्माण थालेकाले पनि घर जग्गाको मूल्य अकासिएको छ । “नमुना शहरको अवधारणामा पूर्वाधार निर्माण हुँदैछन्, त्यसैले जनसंख्या बढ्दै जाँदा घरजग्गाको मूल्य पनि तीब्र गतिमा वृद्धि हुँदैछ,” नगर विकास समितिका अध्यक्ष अर्जुन माबोहाङले भने ।
गाउँको केन्द्र तोकिएका यी बजारमा सरकारले केन्द्र तोकेसँगै भविष्यमा ठूलो सहर हुने र सेवा सुविधा विस्तार हुने सोचेर गाउँबाट मानिस आउने क्रम बढेको छ । हाल यी बजार क्षेत्रमा घर घडेरीको कारोबार गर्नेको संख्या ह्वात्तै बढेको मालपोत प्रमुख इङनामले बताए । “केन्द्र तोकिएका स्थान वरपर घरघडेरीको मूल्य पनि बढेको छ,” उनले भने, “केन्द्र तोकिएका बजारमा सामान्य घर बनाउने घडेरीको मूल्य कम्तिमा पनि १५ देखि २० लाख रुपैयाँ माथि पर्छ ।”

त्यस्तै अर्को व्यापारिक बजार जिरीखिम्तीमा पनि घर बनाउने खाली जग्गा कम भएकाले जग्गाको मूल्य अकासिएको स्थानीय श्रीप्रसाद कार्कीले बताए । केन्द्र तोकिएका बजार क्षेत्रमा पछिल्लो समय धरान, विराटनगर, इटहरी, पोखरा तथा काठमाडौंमा बनाइने शैली र आकारका घर धमाधम निर्माण भइरहेका छन् ।
प्रकाश पाक्साँवा

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com