हेटौंडा उपमहानगरपालिकाले दिएको घडेरी विवेकशील साझाका सांसदले नलिने


प्रकाशित मिति : ३ फाल्गुन २०७४, बिहिबार

काठमाडौं : प्रदेश ३ का सांसदलाई हेटौंडा उपमहानगरपालिकाले सरकारी दररेटमा दिने घडेरी विवेकशील साझा पार्टीका प्रदेश सांसादले नलिने भएका छन्। शनिबार साझा पार्टीको संसदीय दलका नेता रमेश पौडेलले विज्ञप्ति सार्वजनिक गर्दै नगर विकास समितिको स्वामित्वमा रहेको घडेरी जग्गा हेटौंडा उपमहानगरपालिकाले प्रदेश ३ का सांसदलाई सरकारी दररेटमै उपलब्ध गराइने विषयमा भएको निर्णयप्रति ध्यानाकर्षण भएको भन्दै यस्तो बताएका हुन्।

‘प्रचलित बजार मूल्य भन्दा कैयौं गुण कम दररेटमा सरकारी स्वामित्वको जग्गा सर्वदलीय सहमतिमा सांसदलाई उपलब्ध गराइने कुरा घुमाउरो हिसाबले भ्रष्टाचार नै हो भन्ने हाम्रो ठहर छ’, विज्ञप्तिमा भनिएको छ, ‘विवेकशील साझा पार्टीका प्रदेश ३ का तीनैजना सांसदले यस्तो घडेरी सुविधा नलिने घोषणा गर्दछौं।’

साझा पार्टीले नगर विकास समितिको यो निर्णयको कडा शब्दमा भत्सनासमेत गरेको छ। ‘संघीयता कार्यान्वयनको प्रारम्भिक चरणमा नै प्रदेश र स्थानीय तहमा देखिएका राज्यदोहनका यस्ता विसंगतिको विवेकशील साझा पार्टी कडा विरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com