कार दुर्घटनामा ज्यान गुमाएका सिंचाइ सचिव यादवको अन्त्येष्टि


प्रकाशित मिति : माघ २८, २०७४ आईतबार

माघ २८, जितपुर, कपिलवस्तु । कार दुर्घटनामा निधन भएका सिंचाइ मन्त्रालयका सचिव रामानन्द यादवको आइतबार अन्त्येष्टि गरिएको छ।

काठमाडौं फर्कने क्रममा शनिबार धादिङमा दुर्घटनामा परेका सचिव यादवको बहादुरगञ्जस्थित सुरही खोलामा दाहसंस्कार गरिएको हो। यादवलाई उनका दाजु छेदीप्रसादले दागबत्ती दिएका थिए। यादवको सम्मानमा सशस्त्र प्रहरीले शोक सलामी अर्पण गरेको थियो।

सचिव यादवको दाहसंस्कारमा सिंचाइमन्त्री सञ्जयकुमार गौतम, सिंचाइ राज्यमन्त्री अमरसिंह पुन, सिंचाइ सहसचिव सागरकुमार राई, विभागका महानिर्देशक अशोक सिंह, कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी मदन भुजेल लगायत सरकारी अधिकारी तथा स्थानीय बासिन्दाको उपस्थिति थियो।

सचिवसँगै दुर्घटनामा ज्यान गुमाएकी कृष्णनगर नगरपालिका बहादुरगञ्जकी १५ वर्षीया उन्नति गुप्ताको पनि आइतबारै दाहसंस्कार गरिएको छ।

सचिव यादव सवार बा २ झ ३१४० नम्बरको कार शनिबार धादिङको सलाङघाटबाट त्रिशूलीमा खसेको थियो। दुर्घटनामा परेका यादवका २२ वर्षीय छोरा सन्तोष अझै बेपत्ता छन्। रासस

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com