नेपालकै होची महिलालाई सामाजिक सुरक्षा भत्ता


प्रकाशित मिति : माघ १९, २०७४ शुक्रबार

–महिला खबर–

मोरङ । जिल्लाको सुन्दर हरैँचा नगरपालिकामा नेपालकै होची महिला फेला परेको दाबी गरिएको छ । सुन्दर हरैँचा नगरपालिका–४ निवासी रमेशप्रसाद मुररकी १९ वर्षीया छोरी मालती ऋषिदेव देशकै होचो महिला भएको दाबी गरिएको हो ।

मालतीको तौल १४ किलो छ, भने उचाइ ३२ इन्च छ । मालतीसँग नागरिकता छैन । उनलाई सुन्दर हरैँचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले सामाजिक सुरक्षा भत्ताबापत मासिक दुई हजार रुपैयाँ उपलब्ध गराएका छन् ।

२०५६ भदौ १८ गते जन्मिएकी मालतीको २०६२ जेठ ३० गते जन्मदर्ता गरिएको छ ।

उनका बुबा रमेशप्रसाद मुरर र आमा मीनादेवी मुरर दुवैको जन्मसिद्ध नागरिकता छ । तर मालतीको नागरिकता छैन् । सरकारले केही समयदेखि जन्मसिद्ध नागरिकता वितरण रोकेका कारण उनले नागरिकता बनाउन सकेकी छैनन् ।

जन्मसिद्ध नागरिकता वितरण प्रक्रिया सुचारु भएपछि मालतीलाई नागरिकता उपलब्ध गराउने प्रमुख ढकालले बताए । प्रमुख ढकालले उनको नागरिकता नबनेसम्म नगरपालिकाको आन्तरिक स्रोतबाट सामाजिक सुरक्षा भत्ताअन्तर्गत मासिक रुपमा दुई हजार रुपैयाँ उपलव्ध गराउने बताए ।

उनीहरुको घर सुन्दर हरैँचा–४ को सुकुम्वासी बस्तीमा छ । खान बस्नको समस्या भएका कारण छोरी मालतीको उचाइ बढाउने गरी औषधोपचार र शिक्षाको व्यवस्था गर्न नसकिएको बाबु मुररले बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com