प्रचण्डको राष्ट्रघात : यसरी बुझाए नेपालको साँचो भारतको हातमा


प्रकाशित मिति : आश्विन ११, २०७३ मंगलबार

– न्हुच्छेनारायण डंगोल

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको साँचो भारतलाई बुभाएर आउनुभयो । दोस्रो पटक भारतको आशीर्वादमा प्रधानमन्त्री बनेर हतारहतार भारतको भ्रमण गर्नुभएका उहाँले नेपाल र नेपाली जनताको हितलाई बेवास्ता गर्दै भारतको हितलाई शिरोपर गरी तीनबुँदे समझदारी र २५ बुँदे संयुक्त विज्ञप्तिमा ल्याचे लगाउनुभयो । नेपालको इतिहासमा यति तल गिरेर भारतसँग कुनै पनि यसअघिका प्रधानमन्त्रीले काम नगरेको परराष्ट्र मामिला जानाकार बताउँछन् । आखिर दाहाल किन यति तल गिरेर भारतसँग नेपालको अहित हुने गरी सहमति र समझदारी गरेर आउनुभयो ? सर्वत्र यही प्रश्न गरिएको छ ।

सत्ताका लागि मुलु कको स्वाभिमान र स्वतन्त्रतामाथि नै आँच आउने गरी भारतसित सहमति र समभदारी गर्नुभएका दाहाल स्वदेश फर्केपछि सर्वत्र उहाँको विरोध भएको छ । नेपाल र नेपाली जनताको हितमा भारतसँग कुरा राख्न नसकेको र भारतले तयार गरेको कागजमा ल्याप्चे लगाई नेपाल र नेपालीको स्वतन्त्रता र स्वाभिमानलाई कमजोर बनाउने काम गर्नुभएकोले उहाँमाथि सर्वत्र प्रहार भएको छ । प्रचण्डले अहिलेसम्मकै ठूलो राष्ट्रघात गरेको भन्दै नेकपा एमाले, राप्रपा नेपाललगायतका विपक्षी दलहरुले मात्र होइन उहाँकै पूर्व सहयात्री डा. बाबुराम भट्टराई, मोहन बैद्य र नेत्रविक्रम चन्दले समेत कडा आपत्ति जनाएका छन् । सत्ता साझेदार नेपाली काँग्रेसभित्रको भारतइतर समूहले पनि काँग्रेससित सल्लाह नै नगरी दाहालले भारतसित सम्झौता गरेको भन्दै असन्तुष्टि जनाएको छ ।

606185356

नेपाली काँग्रेसमा घोर भारतपरस्त भनेर चिनिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द निधिलाई दाहालले विशेष दूतका रुपमा भारत पठाएपछि निधिले नै भारतको इशारामा तीनबुँदे सहमति र २५ बँुदे संयुक्त विज्ञप्ति तयार गरेको कुरा चर्चामा छ । नेपालको हित विपरीत नयाँदिल्लीमा भारतीय समकक्षी नरेन्द्र मोदीको मोहमा आँखा चिम्लिएर सहीछाप गरेका दाहालका कारण निकट भविष्यमा नेपालले भारतसँग निकै ठूलो मूल्य चुकाउनुपर्ने भएको छ ।

बीर पूर्खाहरुले रगत बगाएर जोगाएको,कहिल्यै पराधीन नभएको,स्वाभिमानी बीर गोरखालीको देश नेपाललाई अहिलेका सत्ताधारीले आफ्नो सत्तास्वार्थ र छिमेकी भारतको स्वार्थमा बन्धक बनाउनेजस्तो गद्दारीपूर्ण काम गरेका छन् । दाहाल नयाँ दिल्लीमा गएर जसरी लम्पसार परी नेपालको साँचा बुझाउने काम गरेका छन् यो स्वाभिमानी नेपालीलाई कुनै हालतमा स्वीकार हुन सक्दैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममार्फत नै दाहालले नयाँदिल्लीमा गरेका तीनबुँदे सहमति र २५ बुँदे संयुक्त विज्ञप्ति खारेज गरिदिएको घोषणा गर्दै त्यसलाई कुनै हालतमा पनि नमान्ने स्पष्ट गर्नुभएको छ ।

१० वर्षसम्म नेपालमा रगतको खोलो बगाएर  र अर्वौको क्षति पुर्याउने नायक दाहाल दोस्रो पटक म्यादी प्रधानमन्त्री बनेपछि विगतका गल्ती नदोहोर्याउने र देश र जनताको हितमा सकेसम्म राम्रो काम गरेर देखाउने सार्वजनिक प्रतिबद्धता जाहेर गर्दा अब केही हुन्छ कि भन्ने लागेको थियो । दाहालबाट केही राम्रा काम हुन्छन् कि भन्ने आशा गरेका नेपालीहरु भारत भ्रमणबाट पूर्णरुपले निराशमात्र होइन आक्रोशितसमेत भएका छन् । दाहालले आखिर नेपालीको हितविपरीत भारतलाई खुसी पार्ने काम गरेर के पाउनुभयो ?

606185340

दाहालले गरेको सहमति कार्यान्वयन गर्ने हो भने नेपालका विदेशनीति नयाँदिल्लीबाट निर्देशित हुनेछ भने लैनचौर स्थित भारतीय दूतावाले दिल्ली सरकारको हैसियतमा नेपालसँग आर्थिक मामिलामा डिल गर्नसक्छ । माथिल्लो कर्णाली, पंचेश्वर,अरुण तेस्रोलगायतका जलविद्युत् आयोजना भारतलाई सुम्पेका दाहालले भारतबाहेक अरुले जलस्रोतमा लगानी गर्न हच्किने अवस्था सिर्जना भएको छ ।

दाहालका कारण चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण स्थगितमात्र भएन चीनले रेल र तेलमा गर्न चाहेको लगानी नहुने अवस्थामा पुगेको छ । भारतसित विशेष सम्बन्ध राखेको नाटक गरी चीनलगायत यस क्षेत्रका अन्य मुलुकहरुलाई रुष्ट पार्न भारतलाई संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्य बनाउन सहमति गरेर आएका दाहलको यो कदम परराष्ट्र नीति र राष्ट्रिय सहमति विपरीत छ । भारतलाई सुरक्षा परिषद्को स्थायी सदस्य बनाउने विषयमा यस क्षेत्रका मुलुकहरु र नेपालभित्रै पनि गम्भीर असहमति छ । यस्तो अवस्थामा नेपालमा यो विषयमा छलफल नै नगरी राष्ट्रिय सहमति नै नबनाई दाहालले भारतलाई समर्थन गर्नु खेदको विषय हो ।

606185368

१० वर्षे युद्धमा १९५० को असमान सन्धि खारेज गर्नुपर्छ भनी भारतविरुद्ध सुरुङयुद्ध गर्ने नाटक गरेका दाहालले भारत जाँदा एकशब्द पनि उच्चारण नगर्नु रहस्य अब खुलेको छ । नेपाललाई कमजोर बनाएर भारतलाई बलियो बनाउने अभियानमा लागेका देशविरोधी नेताकै कारण आज नेपाल इतिहासकै कमजोर अवस्थामा पुगेको छ । अब नेपाल बचाउने हो भने राष्ट्रवादी नेपालीहरु एकजुट भएर देशविरोधी नेतालाई बहिष्कार गरी राष्ट्रवादी नेतालाई सत्तमा पुर्याउनुपर्छ नत्र अब नेपाल बचाउन गाह्रो छ । चारैतिरबाट भारतीय हस्तक्षेप बढेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com