हजूरआमाको मुस्कान
प्रकाशित मिति : पुस १०, २०७४ सोमबार
सर्मिला बुढाथोकी–
दोलखा । ८४ वर्षीया हजुरआमा बालकुमारी भुजेलको मुस्कानले परिवेशलाई छुट्टै रौनकता प्रदान गरेको थियो । आईतवार चरिकोट अस्पतालबाट बाहिरिदै गर्दा उनले झण्डै ४० बर्षपछि आफू पीडा मुक्त भएर नयाँ जीवनमा प्रवेश गरेको सुनाइन् ।

पाठेघर र मुत्र थैलीको समस्याबाट पीडित दोलखा विगु गाउँपालिका वडा नम्बर ५ लादुककी ८४ वर्षीया बालकुमारीको प्रस्तावित चरिकोट अस्पतालमा सफल शल्यव्रिmया भएपछि उनले नयाँ जीवन पाएकी हुन् । ‘झण्डै ४० वर्ष अघिदेखी म पाठेघर खस्ने रोगबाट पीडित थिए । हिँड्न, बस्न र पिसाब गर्न साह्रै समस्या थियो’ बालकुमारीले भनिन्, ‘डाक्टर बाबुले उपचार गरिदिएपछि अहिले राम्रोसंग हिड्न सक्ने भएकी छु ।’
लामो समयदेखि पाठेघर खस्ने समस्याबाट पीडित हजूरआमा बालकुमारीको उपचारका लागि अस्पताल आएपछि पुष ३ गते प्रस्तावित चरिकोट अस्पतालका डाक्टर विनोद दंगाल, डाक्टर तुलाकृष्ण गुप्ता र नर्सिङ इन्चार्ज खेमा स्वारको टोलिले पाठेघर र मूत्रथैलीको सफल शल्यक्रिया गरिदिएको थियो ।
‘हजूर आमालाई ४०÷४५ बर्षको उमेर देखिनै पाठेघर खस्ने समस्या रहेछ, सुरु सुरुमा रिङ राखेपनि थप उपचार गर्ने तिर चासो नदेखाएको कारण पाठेघर पूर्ण रुपमा खसेर मुत्रथैली समेत बाहिर आईसकेको थियो’– डाक्टर विनोद दंगालले भने ।
करिब ६ महिना अघिदेखि हिड्न, बस्न र पिसाब गर्न समेत समस्या भएको र विभिन्न स्वास्थ्य चौकी तथा पाठेघर रोग सम्बन्धि क्याम्पहरुमा जाँदा अब उपचार हुँदैन भनेर फर्काएपछि हजूरआमा उपचारको लागि चरिकोट अस्पतालमा आएको दंगालले बताए ।
अस्पतालले तत्कालै शल्यव्रिmया गरिदिएपछि अहिले उनलाई हिड्न, बस्न र पिसाब गर्न समेत सहज भएको डाक्टर दंगालको भनाई छ ।
हजुरआमा बालकुमारीको छोरा चेतबहादुर भुजेलले पनि चरिकोट अस्पतालले आमाको सफल उपचार गरी नयाँ जीवन दिएको बताए ।
‘पाठेघरको समस्याले गर्दा आमालाई हिड्नमात्र हैन पिसाब गर्न समेत कष्ट हुने गरेको थियो । चरिकोट अस्पतालले निशुल्क उपचार गरेर आमालाई नयाँ जीवन दिएको छ ’ –चेतबहादुरले भने ।
धेरै स्वास्थ्य चौकी र क्याम्पहरुमा लग्दा कतै उपचार सम्भव नभएपछि चरिकोट अस्पतालले सफल उपचार गरेर गुन लगाएको चेतबहादुरले बताए ।
चरिकोट अस्पतालका डाक्टर विनोद दंगालले हजुर आमाको शल्यव्रिmया निक्कै जटिल प्रकृतिको भएपनि अस्पतालका सबै स्वास्थ्यकर्मीहरुको साथ र सहयोगले सफलता मिलेको बताए ।
अस्पतालमा २१ जना भन्दा बढीको पाठेघरको सल्यक्रिया गरिसकिएको छ ।
सामान्यतया पाठेघर खस्ने समस्या भएका विरामीहरुलाई सुरुको चरणमा रिङ राखिदिने र त्यसलाई तीन÷तीन महिनामा परिर्वतन गरिरहनु पर्ने भएपनि दोलखाका अधिकांश पाठेघरका विरामीहरुले रिङ एकपटक राखेपछि वेवास्ता गर्ने कारण समस्या हुने गरेको सवास्थ्यकर्मीहरुको भनाई छ ।
दोलखा जिल्लाको ग्रामीण क्षेत्रमा अहिलेपनि धेरै महिलाहरु पाठेघर खस्ने समस्याबाट पीडित रहेको र उनीहरुले रिङ राखेर थप उपचारमा वेवास्ता गरिरहेको पाईएकोले उनीहरुलाई स्वास्थ्य चौकीसम्म ल्याउने कुरामा नागरिक समाज, पत्रकार, राजनीतिज्ञ र परिवारका सदस्यहरुले सहयोग गर्नुपर्ने डाक्टर विनोदको भनाई छ ।





