बर्दिवासलाई शैक्षिक शहर बनाउने मन्त्री पोखरेलको सपना


प्रकाशित मिति : पुस १, २०७४ शनिबार

पुस १ बर्दिवास– विनाविभागीय मन्त्री तथा महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा माओवादी केन्द्रका नेता गिरीराजमणि पोखरेलले बर्दिबासलाई शैक्षिक शहर बनाउने आफ्नो सपना रहेको बताएका छन् ।

महोत्तरीको बर्दिबास, ३ गौरीडाँडामा शनिबार आयोजित जनता मावि को ४३ औं वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रममा बोल्दै उनले विद्यालय कारखाना भएकाले त्यसबाट उत्पादित जनशक्तिले राष्ट्रको आवश्यकतालाई परिपूर्ति गर्नुपर्ने र देशको नेतृत्व गर्ने साधनको रुपमा हुनुपर्ने कुरामा जोड दिए । उनले विद्यालयबाट उत्पादित जनशक्तिले काम गर्नुपर्ने हुनाले विद्यालयको महत्वपूर्ण भूमिका हुनुपर्ने बताएका छन् ।
मन्त्री पोखरेलले त्रिचन्द्र कलेज स्थापना गर्दा राणाहरुले जनताका छोराछोरी पढेर आफ्नै शासनलाई अन्त्य गर्ने अभिव्यक्ति दिएको हुँदा नेपालको शैक्षिक स्तर उठ्न नसकेको टिप्पणी गरे । पोखरेलले आजको शिक्षा जीवनोपयोगी हुनुपर्ने कुरामा जोड दिंदै कमजोर विद्यार्थीलाई राम्रो विद्यार्थीमा बदल्न शिक्षक र अभिभावकले खेल्नुपर्ने भूमिका महत्वपूर्ण हुुने बताए ।

महोत्तरी क्षेत्र नम्बर १ बाट प्रदेश सभाका लागि निर्वाचित सांसद भरतप्रसाद शाह, बर्दिबास नगरपालिकाका मेयर विदुर कार्की, उपमेयर कृष्णमाया गौतम, सीटीइभीटीका सम्बन्धन शाखाका निर्देशक दोब्बर लाल शिलाकार, महोत्तरीका शिक्षा अधिकारी ठुलोबाबु दाहाल, लगायतले विद्यालयलाई शुभकामना दिएका थिए ।

कार्यक्रममा नवनिर्वाचित प्रतिनिधि सभा ,प्रदेशसभा ,स्थानीय तहका विजयी पदाधिकारी र असल विद्यार्थीका अभिभावकलाई प्रशंसा पत्र तथा खादा ओढाएर सम्मान गरियो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com