रौतहटमा स्थानीबासी र प्रहरीबीच झडप हुँँदा ३० जना घाइते


प्रकाशित मिति : मंसिर १५, २०७४ शुक्रबार

मंसिर १५ रौतहटको गैरुडा नगरपालिका ७ महम्मदपुरमा स्थानीबासी र प्रहरी बीच झडप हुँदा ९ सुरक्षाकर्मी र २१ स्थानीय गरी ३० भन्दा बढी घाइते भएका छन् । आसन्न निर्वाचनलाई लक्षित गरी मतदातालाई आफ्नो पक्षमा पार्न मधेश आन्दोलन र आन्दोलनमा भएको दमनलाई समेटेर बनाईएको डकुमेन्ट्री गाउँमा प्रदर्शन भईरहेका बेला गएराति झडप भएको हाम्रा सहकर्मीले जनाएका छन् ।
निर्वाचन आचार संहिता विपरित डकुमेन्ट्री प्रदर्शन गरेको सूचना पाएर गाउँ पुगेको प्रहरी टोली र स्थानीय बासिन्दाबीच झडप भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डिएसपी रामकुमार दानीले बताएका छन् । झडपमा परी ९ जना प्रहरी र ३ जना स्थानीय गरी १२ जना घाइते भएको प्रहरीले दाबी गरेको छ । प्रहरीले त्यस क्रममा १० राउण्ड हवाई फायर गरेको डिएसपी दानीले बताए । स्थानीयले भने गाउँमा निर्वाचनसम्बन्धी छलफल गरीरहेका बेला प्रहरी र वाईसिएल कार्यकर्ताले आक्रमण गरेको आरोप लगाएका छन् । घाइतेहरुको चन्द्रपुर, गरुडा, गौर र केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको स्थानीयले बताए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com