उत्तर कोरियाद्वारा ‘बलिस्टिक क्षेप्यास्त्र प्रहार’


प्रकाशित मिति : मंसिर १३, २०७४ बुधबार

व्यालिस्टिक क्षेप्यास्त्रतस्वीर उत्तर कोरियाले यसअ‌घि पनि बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो

दक्षिण कोरियाली समाचार संस्था योनहापले उत्तर कोरियाले एउटा नाम नखुलेको बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ।

गएको झण्डै अढाई महिनायता उसले क्षेप्यास्त्र प्रहार गरेको यो पहिलो पटक हो।

दक्षिणी प्रान्त प्योङयानको प्योङसोङबाट उक्त क्षेप्यास्त्र पूर्वतिर गएको जनाइएको छ।

उक्त क्षेप्यास्त्रले कति दूरी पार गर्‍यो र यसअघिको जस्तो सो क्षेप्यास्त्र जापानी भूभागमाथि हुँदै गयो कि गएन भन्ने स्पष्ट भइसकेको छैन।

आणविक कार्यक्रम

उत्तर कोरियाको आणविक कार्यक्रमबारे तनाव बढिरहँदा उसले यो वर्ष जुलाई महिनामा पहिलो अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो।

विश्लेषकहरु भन्छन्, प्योङयाङले संयुक्त राज्य अमेरिकाको मुख्य भूमि पनि भेट्ने गरी लामो दूरीसम्म मार हान्ने क्षमता भएका क्षेप्यास्त्रहरुको विकास गरिरहेको छ।

यसअघि गत एप्रिल महिनामा पनि अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले प्योङयाङविरुद्ध कडा कदमहरु चाल्नुपर्ने बताए लगत्तै उत्तर कोरियाले एउटा बलेस्टिक क्षेप्यास्त्रको परीक्षण गरेको थियो।

तर सो क्षेप्यास्त्र उडेको केहीबेरमै विस्फोट भएको थियो।

चेतावनी

यसअघि एप्रिल महिनाकै शुरुमा उत्तर कोरियाले गरेको अर्को क्षेप्यास्त्र परीक्षण पनि विफल भएको थियो।

राष्ट्रसंघको सुरक्षा परिषद्‍मा बोल्दै अमेरिकी विदेशमन्त्री टिलर्सनले उत्तर कोरियाको परमाणु कार्यक्रमविरुद्ध कदम चाल्न विश्व विफल भए त्यसले घातक परिणाम ल्याउने चेतावनी दिएका थिए।

तर चिनियाँ विदेशमन्त्री वाङ यीले थप वार्ताहरुको लागि आह्वान गरेका थिए।

अमेरिकाले उत्तर कोरियाको आणविक महत्वाकांक्षालाई नियन्त्रण गर्न चीनले अझ बढी भूमिका निर्वाह गरोस् भन्दै आएको छ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com