चुनावमा खटिएका एक कर्मचारीको लेक लागेर मृत्यु
प्रकाशित मिति : मंसिर १२, २०७४ मंगलबार

मंसिर १२, पर्वत । पहिलो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचन गराउन उपल्लो मुस्ताङको छोसेरमा गएका एक कर्मचारीको चिसोका कारण मृत्यु भएको छ। घरेलु तथा साना उद्योग विकास समिति मुस्ताङका उद्योग विकास शाखामा कार्यरत कार्यालय सहयोगी ४५ वर्षीय लेखनाथ निउरेको मृत्यु भएको जिल्ला निर्वाचन कार्यालय मुस्ताङका कर्मचारी महेन्द्र रेग्मीले जानकारी दिए।
लेक लागेपछि छोसेरमामा नै प्राथमिक उपचार गरेर थप उपचारको लागि जिल्ला अस्पताल, जोमसोममा भर्ना गरिएको भए पनि निउरेको मंगलबार मृत्यु भएको हो। उनी मुस्ताङकै चिसो मानिने उत्तरी कोरला नाकाको करिब १० किलोमिटर वर छोसेरको दिब्यदीप मतदान केन्द्रमा गोलाप्रथाद्वारा निर्वाचनको लागि खटिएका थिए। मतदानको दुई दिनअघि उपल्लो मुस्ताङ पुगेका निउरे मतदानको दिनमा नै लेक लागेर बिरामी परेका थिए। लेक र चिसोले छोइसक्दा पनि भौगोलिक विकटताका कारण समयमै पर्याप्त उपचार नपाउँदा निउरेको मृत्यू भएको हो। बाग्लुङ घर भई हाल चितवनमा बसोबास गर्दे आएका मृतक निउरे २०६८ सालदेखि उद्योग विकास शाखा मुस्ताङमा कार्यालय सहयोगी भएर काम गर्दै आएका थिए।