सिरियामा रुसले गरेको आक्रमणबाट ५३ सर्वसाधारण मारिए


प्रकाशित मिति : मंसिर ११, २०७४ सोमबार

११ मंसिर, काठमाडौं । रुसले इस्लामिक स्टेट नियन्त्रित सिरियाको एक गाउँमा हवाइ आक्रमण गर्दा बालबालिकासहित ५३ जना सर्वसाधारणको मृत्यु भएको छ ।

मारिनेमा २१ जना बालबालिका रहेका सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ ।

सिरियाको अल शफाह गाउँमा रुसी विमानबाट आक्रमण गरिएको हो जुन इस्लामिक स्टेटले नियन्त्रणमा लिएको अन्तिम प्रान्त डेर अल जोरमा पर्दछ ।

आक्रमणमा सुरुमा ३४ जना मारिएको भनिए पनि भग्नावशेष पन्छाउँदा ५३ वटा लाश फेला परेका थिए ।

रुसले आक्रमण गरेको स्वीकार गरेको छ तर उसले स्लामिक स्टेटका लडाकूलाई मारेको दावी गरेको छ । रुस सिरियाका राष्ट्रपति बसर अल असादको समर्थक हो ।

सिरियामा लामो समयदेखि जारी गृहयुद्ध समाधानको प्रयासमा संयुक्त राष्ट्रसंघले आगामी हप्तामा जेनेभामा शान्ति वार्ता आयोजना गरेको छ । तर यसअघि धेरै पटक भएका यस्ता वार्ताहरु असफल हुँदै आएका छन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com