निगरानी क्यामेराको पक्षमा ट्रम्प: आफ्नै पार्टीका सांसदहरूसँग मतभेद सिर्जना हुने सम्भावना
Photo: Cool Photos / Unsplash
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सवारी साधनको लाइसेन्स प्लेट पढ्ने प्रविधि ‘फ्लक सेफ्टी’ नेटवर्कको सार्वजनिक रूपमा समर्थन गरेका छन्। ट्रम्पको यस अभिव्यक्तिले उनलाई अमेरिकी संसद्मा रहेका आफ्नै रिपब्लिकन पार्टीका सांसदहरूसँग मतभेदको स्थितिमा पुर्याउन सक्ने देखिएको छ, जसले यस प्रविधिको तीव्र विरोध गर्दै आएका छन्।
आइतबार ‘एयर फोर्स वान’ विमानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले व्यक्तिगत गोपनीयता र सरकारी निगरानीसम्बन्धी चिन्ताहरू कायम रहे तापनि यी क्यामेराहरूले सुरक्षा निकाय तथा प्रहरीलाई सहयोग पुर्याउने बताए।
“सुरक्षा र कानुन कार्यान्वयनका दृष्टिले मलाई यी क्यामेराहरू मन पर्छन्,” ट्रम्पले भने, “तर केही मानिसहरू यसलाई मन पराउँदैनन्। उनीहरू यसलाई व्यक्तिगत अधिकार र गोपनीयताको हनन मान्छन्।”
पत्रकारले यी क्यामेराहरूले “धेरै अपराधीहरूलाई पक्राउ गर्न मद्दत गर्छन्” भनी उल्लेख गर्दा, ट्रम्पले थपे: “त्यसैले त मलाई यी मन पर्छन्।”
ट्रम्पको यो अभिव्यक्ति फ्लकको द्रुत गतिमा विस्तार भइरहेको अटोमेटेड लाइसेन्स प्लेट रिडर प्रविधिलाई दिइएको अहिलेसम्मकै सबैभन्दा स्पष्ट समर्थन हो। देशभरका हजारौँ प्रहरी निकायहरूले यस प्रविधिलाई अपनाएका भए तापनि, नागरिक अधिकारका पक्षधर र सांसदहरूले गोपनीयता, डेटा सङ्कलन र नागरिक निगरानीलाई लिएर गम्भीर चिन्ता व्यक्त गर्दै आएका छन्।
फ्लक क्यामेराको आलोचना विभिन्न राजनीतिक वृत्तबाट भइरहेको भए तापनि, यस प्रविधिलाई सीमित गर्ने प्रमुख विधायी प्रयासहरूको नेतृत्व स्वयम् रिपब्लिकन सांसदहरूले नै गरिरहेका छन्।
यसै महिनाको सुरुमा केन्टकीका रिपब्लिकन सांसद थोमस म्यासीले एच.आर.१०२२१ नम्बरको विधेयक “फ्लक-अफ एक्ट”दर्ता गराएका छन्। म्यासीको सचिवालयका अनुसार, यस विधेयकले अटोमेटेड लाइसेन्स प्लेट रिडर र बायोमेट्रिक क्यामेरा खरिद, जडान, सञ्चालन वा स्तरोन्नतिका लागि सङ्घीय बजेट प्रयोग गर्न प्रतिबन्ध लगाउनेछ।
विधेयक सार्वजनिक गर्दै सांसद म्यासीले भनेका छन्, “करदाताको रकमलाई नागरिकमाथि निगरानी बढाउने कार्यमा खर्च गरिनु हुँदैन। सङ्घीय सरकारले आफ्ना समुदायलाई सन् १९८४ को काल्पनिक नियन्त्रित समाज जस्तै बनाउन खोज्ने प्रहरी विभागहरूलाई बजेट उपलब्ध गराउनु हुँदैन।”
म्यासीको यो प्रस्तावले भविष्यको खरिदमा रोक लगाउने मात्र नभई, सङ्घीय अनुदानबाट जडान गरिएका पुराना प्रणालीहरू हटाउन र ती क्यामेराहरूसँग सम्बन्धित डेटा-साझेदारी तथा क्लाउड सेवाका सम्झौताहरूमा सङ्घीय रकम प्रयोग गर्न प्रतिबन्ध लगाउने व्यवस्था गरेको छ।
अर्का रिपब्लिकन सांसद टिम बर्चेटले गत जुलाईमै एच.आर.९८००.नम्बरको “मास सर्भिलेन्स सुरक्षा ऐन”पेस गराएका थिए। यस विधेयकले सङ्घीय निकायहरूलाई अनुहार पहिचान र बायोमेट्रिक प्रविधिमार्फत नागरिकको निगरानी गर्न वा डेटा खरिद गर्न रोक लगाउँछ। बर्चेटले यो प्रविधि अमेरिकी संविधानको चौथो संशोधनले दिएको अधिकारको विरुद्धमा रहेको तर्क गरेका छन्।
रिपब्लिकन पार्टीभित्र ट्रम्पको बलियो पकड रहेकाले उनको समर्थनपछि म्यासी र बर्चेटका विधेयकहरूलाई समर्थन जुटाउन कठिनाइ हुन सक्छ। यदि ट्रम्पले यसलाई गोपनीयताको मुद्दाभन्दा पनि अपराध नियन्त्रण गर्ने माध्यमका रूपमा मात्र प्रस्तुत गरिरहे भने, अन्य रिपब्लिकन सांसदहरू यस प्रविधिलाई प्रतिबन्ध लगाउने विधेयकको पक्षमा उभिन हिचकिचाउने सम्भावना बढेको छ।





