अमेरिकामा प्रहरी कार्यालय बाहिरैबाट पिकअप ट्रकसहित क्यामेरा चोर्ने अभियुक्त नियन्त्रणमा
Photo:krzhck/Unsplash
सार्वजनिक स्थलमा राखिएका सर्भिलेन्स क्यामेरा नियन्त्रणमा लिने प्रयास गर्दा एक अमेरिकी नागरिक कानुनी झमेलामा परेका छन्। न्यु मेक्सिको राज्यको बर्ननिलियो काउन्टीका ४४ वर्षीय जेभोन मार्टिनेजलाई १० वटा ‘फ्लक सेफ्टी’ अटोमेटेड लाइसेन्स प्लेट रिडर क्यामेरा प्रणाली अनाधिकृत रूपमा निकालेर आफ्नो कब्जामा लिएको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
मार्टिनेजले क्यामेराहरू निकालेर आफ्नो पिकअप ट्रकमा राख्दै गर्दाको भिडियो आफैँ सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण गरेका थिए। भिडियोमा उनले आफूले ती उपकरणहरू चोर्न वा नष्ट गर्न नभई स्थानीय प्रहरीलाई सहयोग गर्नका लागि हटाएको दाबी गरेका छन्। केही दिनअघि मात्रै बर्ननिलियो काउन्टीका सेरिफ जोन एलेनले गोपनीयता र डाटा सुरक्षाको कारण देखाउँदै फ्लोक कम्पनीसँगका तीनवटा सम्झौता रद्द गर्ने घोषणा गरेका थिए।
तर, मार्टिनेजको दाबी र वास्तविक तथ्यमा ठूलो भिन्नता पाइएको छ। प्रहरीका अनुसार उनले निकालेका १० वटा क्यामेरा प्रणालीमध्ये २ वटा मात्रै सेरिफ कार्यालयसँग सम्बन्धित थिए भने बाँकी ८ वटा क्यामेरा विभिन्न टोल विकास संस्थाहरूले आफ्नै खर्चमा जडान गरेका निजी उपकरणहरू थिए। जफत गरिएका उपकरणहरूको कुल मूल्य करिब १६,५०० अमेरिकी डलर रहेको बताइएको छ।
क्यामेराहरू प्रहरीलाई बुझाउन लैजाने क्रममा प्रहरीले उनलाई सेरिफ कार्यालय बाहिरबाटै नियन्त्रणमा लिएको हो। मार्टिनेजमाथि चोरी र सञ्चार सेवामा बाधा पुर्याएको आरोप लगाइएको छ। यसअघि पनि अर्को काउन्टीमा उस्तै प्रकृतिको क्यामेरा तोडफोडको घटनामा उनीमाथि गैर-कानुनी मुद्दा चलिरहेको थियो।
एकातर्फ प्रहरी प्रमुख स्वयंले गोपनीयताका कारण देखाएर फ्लक क्यामेरा हटाउन खोज्नु र अर्कोतर्फ एक नागरिकले सोही क्यामेरा आफैँ हटाउँदा पक्राउ पर्नुले अमेरिकामा नागरिकको गोपनीयता र कानुनी मर्यादाको बहसलाई पुनः सतहमा ल्याइदिएको छ।





