एकै महिनामा दोस्रो ठूलो साइबर हमला: करोडौँ नागरिकका चालक अनुमतिपत्रको विवरण चोरी भएको आशङ्का
Photo: Annie Spratt/ Unsplash
फ्लोरिडाको ‘डिपार्टमेन्ट अफ हाइवे सेफ्टी एन्ड मोटर भेइकल्स’ ले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आफ्नो प्रणालीमा ठूलो डेटा सूचना चोरी भएको र त्यसको छानबिन भइरहेको जनाएको छ। अमेरिकामा नागरिकहरूका चालक अनुमतिपत्र सम्बन्धी विवरण राख्ने निकायमा यो महिना भएको यो दोस्रो ठूलो साइबर हमला हो।
यसअघि, निजी कम्पनीहरूका लागि चालक अनुमतिपत्र स्क्यान गर्ने निकाय आईडीस्क्यान डट नेटले पनि ठूलो साइबर हमलाको सामना गर्नुपरेको बताएको थियो। ह्याकरहरूले उक्त कम्पनीबाट रक्षा मन्त्री पिटर हेगसेथसहित करिब १६ करोड अमेरिकीहरूको परिचयपत्र चोरी गरेको दाबी गरेका छन्। यी दुई घटनाहरू आपसमा सीधा जोडिएका नदेखिए तापनि, आर्टिफिसियल इन्टेलिजेन्सको बढ्दो प्रयोगले साइबर अपराधीहरूलाई सर्वसाधारणका संवेदनशील व्यक्तिगत विवरणमा पहुँच बनाउन झन् सहज हुँदै गएको स्पष्ट हुन्छ।
एफएलएचएसएमभीले घटनालाई नियन्त्रणमा लिइसकिएको र यो हमला एक अन्तर्राष्ट्रिय साइबर अपराध सञ्जालले गराएको जनाएको छ। यद्यपि, डेटा चोरीबाट ठ्याक्कै कति र के-कस्ता विवरणहरू प्रभावित भए तथा ह्याकरहरूको पहुँच कति समयसम्म थियो भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन।
गत साता ‘साइनी हन्टर्स’ नामक साइबर अपराधी समूहले डार्क-वेबमार्फत फ्लोरिडाको ‘ड्राइभर एन्ड भेइकल इन्फर्मेसन डेटाबेस’ आफ्नो पछिल्लो शिकार बनेको दाबी गरेको थियो। उक्त समूहले तथ्याङ्क सार्वजनिक नगर्नका लागि सेप्टेम्बर ११ सम्मको समयसीमा तोक्दै रकम बार्गेनिङको माग राखेको थियो। प्रमाणका रूपमा उनीहरूले चर्चित फाइनान्सर तथा सजाययाफ्त यौन अपराधी स्व. जेफ्री एपस्टिनको चालक अनुमतिपत्र, सामाजिक सुरक्षा नम्बर र सवारी दर्ता विवरणको स्क्रिनसट सार्वजनिक गरेका थिए।
शुक्रबार एफएलएचएसएमभीले आधिकारिक बयान जारी गरेलगत्तै साइबर अपराधी समूहले आफ्नो डार्क-वेब साइटबाट फ्लोरिडासँग सम्बन्धित विवरणहरू हटाएका छन्। सुरक्षा विज्ञहरूका अनुसार यस्ता सूचना हटाउनुको अर्थ प्रायः सम्बन्धित निकाय र ह्याकरहरूबिच विवरण सार्वजनिक नगर्ने विषयमा वार्ता वा सम्झौता प्रक्रिया अघि बढेको भन्ने बुझिन्छ।
यसअघि सेप्टेम्बर ३ मा खोज पत्रकार ब्रायन क्रेब्सले आईडीस्क्यान डट नेटको प्रणाली ह्याक गरी करोडौँ अमेरिकीका विवरण बिक्रीमा राखिएको खुलासा गरेका थिए। हाल यी दुवै गम्भीर डेटा ब्रिचका घटनाबारे अमेरिकी संघीय अनुसन्धान ब्युरो र स्थानीय निकायहरूले गहन छानबिन गरिरहेका छन्।





