मध्यावधि चुनाव जिते प्रत्येक वयस्क अमेरिकीलाई ५,००० डलर दिने ट्रम्पको घोषणा
तस्बिर: जुलिया डेमारी निकिन्सन / एपी/रासस
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले कंग्रेसका दुवै सदनमा जित हासिल गरेमा प्रत्येक वयस्क अमेरिकी नागरिकलाई ५,००० अमेरिकी डलर नगद लाभांश दिने घोषणा गरेका छन्।
राष्ट्रपति ट्रम्पले आफ्नो राष्ट्रपतीय कार्यकालको मध्यमा आयोजना गरिएको पार्टीको पहिलो राष्ट्रिय सम्मेलनमा सम्बोधन गर्दै उक्त घोषणा गरेका हुन्। यो योजना कार्यान्वयन गर्न कुल १.३ ट्रिलियन (१३ खर्ब) डलरभन्दा बढी खर्च हुने अनुमान गरिएको छ।
सम्बोधनका क्रममा ट्रम्पले यो योजना कसरी सञ्चालन हुन्छ वा यसका लागि बजेट कसरी जुटाइन्छ भन्नेबारे विस्तृत विवरण भने खुलाएनन्। उनले केवल यो रकम अमेरिकाभित्रै खर्च गर्नुपर्ने शर्त राखेका छन्।
उपराष्ट्रपति जेडी भान्सले विदेशी वस्तुहरूमा ट्रम्प प्रशासनले लगाएको भन्सार महसुलबाट सङ्कलन भएको राजस्वबाट यो रकम उपलब्ध गराइने सङ्केत गरेका छन्। भान्सले भने, “राष्ट्रपतिले अमेरिकी श्रमिकहरूका लागि लाभांशको कुरा गर्नुभएको हो। हामीले वैदेशिक कम्पनी र देशहरूबाट ठूलो परिमाणमा राजस्व उठाइरहेका छौँ।”
अर्कोतर्फ, डेमोक्र्याटहरूले यस घोषणालाई “फोका आश्वासन” को संज्ञा दिएका छन्। विश्लेषकहरूले चुनावी वर्षमा मतदाता आकर्षित गर्न राष्ट्रपतिस्तरबाटै यस्तो नगद भुक्तानीको प्रस्ताव गरिएको यो सम्भवतः पहिलो घटना भएको बताएका छन्।
अमेरिकामा मूल्यवृद्धि बढिरहेको र फेब्रुअरीदेखि अमेरिका तथा इजरायलको इरानसँग सुरु भएको सैन्य द्वन्द्वका कारण तेलको मूल्यमा उतारचढाव आइरहेका बेला यो प्रस्ताव अघि सारिएको हो।
इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडा र सहयोगी राष्ट्रहरूमाथि जवाफी आक्रमण गर्नुका साथै विश्वको पाँचौँ भाग तेल र एलपीजी ओसारपसार हुने जलमार्ग ‘स्ट्रेट अफ होर्मुज’ ठप्प पारेको छ।
राष्ट्रपति ट्रम्पले आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै नोभेम्बरको निर्वाचनअघि इरान युद्ध अन्त्य नहुने र त्यसबेलासम्म इन्धनको मूल्य पनि घट्न नसक्ने स्पष्ट पारेका छन्। उनले तेहरानलाई आणविक हतियार बनाउनबाट रोक्नका लागि अल्पकालीन आर्थिक कष्ट सहन पर्नु स्वाभाविक भएको तर्क गरे।
अमेरिकामा सरकारी बजेट खर्च गर्ने अधिकार कंग्रेससँग मात्र हुन्छ। यसैले नोभेम्बर ३ मा हुने चुनावमा कंग्रेसका दुवै सदनमा रिपब्लिकनको नियन्त्रण कायम हुन्छ वा हुँदैन भन्ने कुराले नै यस योजनाको भविष्य तय गर्नेछ।
यसका साथै, भोट प्रभावित पार्ने उद्देश्यले नगद दिने घोषणा गर्नु अमेरिकी सङ्घीय कानून विपरीत हुने हो कि भन्ने कानूनी प्रश्न पनि उठेका छन्। तर, केही निर्वाचन कानूनविद्हरूका अनुसार यस्तो घोषणालाई कर छुट वा राजनीतिक अभिव्यक्तिको दायराभित्र राखेर हेर्न सकिने भएकाले यो कानूनी रूपमा सम्भव हुन सक्ने बताएका छन्।





