२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

क्यालिफोर्नियामा २७ करोड डलरको स्वास्थ्य सेवा ठगी प्रकरण: मुख्य योजनाकारलाई ३० वर्षको जेल सजाय

क्यालिफोर्नियाका ६७ वर्षीय पोल रिचर्ड राण्डललाई क्यालिफोर्नियाको स्वास्थ्य सेवा कार्यक्रमबाट करिब २७ करोड अमेरिकी डलर ठगी गरेको अभियोगमा ३० वर्षको सङ्घीय कारावासको सजाय सुनाइएको छ। सेन्ट्रल डिस्ट्रिक्ट अफ क्यालिफोर्नियाको इतिहासमा स्वास्थ्य सेवा ठगीसम्बन्धी यो हालसम्मकै कडा सजायमध्ये एक हो।

अदालतले उनलाई कैद सजायका साथै १७ करोड ८७ लाख ४६ हजार ५५६ अमेरिकी डलर फिर्ता गर्न आदेश दिएको छ।

अदालती दस्तावेजअनुसार, राण्डलले मोन्टे भिस्टा फार्मेसीका मालिक किरोलोस मेकैल  र नर्स प्राक्टिसनर प्याट्रिसिया एण्डरसनसँग मिलेर यो कसुर गरेका थिए। क्यालिफोर्नियाको स्वास्थ्य मन्त्रालयले औषधि भुक्तानी प्रणाली परिवर्तन गर्ने क्रममा औषधि सिफारिसका लागि आवश्यक पर्ने पूर्व-स्वीकृतिको नियम केही समयका लागि स्थगन गरेको थियो। राण्डल र उनका साथीहरूले यही खुकुलो नीतिको फाइदा उठाए।

उनीहरूले सर्वसाधारण र सामान्य स्वास्थ्य अवस्थाका बिरामीका नाममा अत्यन्तै महँगा र अनावश्यक औषधिहरूको झुटा बिल बनाएर सरकारसँग दाबी पेस गरे।

बजारमा सामान्यतया ५ देखि २५ डलर पर्ने मेलोक्सिक्याम फाइभ मिलिग्राम नामक औषधिको एउटै प्रेस्क्रिप्सनमा करिब १३,४२४ डलर दाबी गरिएको थियो।

सामान्य दुखेको मल्हम तथा फोलाइट नामक भिटामिनका नाममा पनि हजारौँ डलरको फर्जी बिल बनाइयो।

राण्डलले बिरामीहरूको विवरण प्राप्त गर्न र नर्स प्याट्रिसिया एण्डरसनबाट फर्जी प्रेस्क्रिप्सनमा हस्ताक्षर गराउनका लागि ठूलो रकम घुस  दिएका थिए। एण्डरसनले बिरामीलाई नभेटी वा उनीहरूको स्वास्थ्य परीक्षण नै नगरी औषधि स्वीकृत गर्ने गरेकी थिइन्।

मे २०२२ देखि अप्रिल २०२३ को ११ महिनाको अवधिमा उनीहरूले २६ करोड ९१ लाख डलरभन्दा बढीको फर्जी दाबी पेस गरे, जसमध्ये मेडीकलले करिब १७ करोड ८७ लाख डलर निकासा गरेको थियो।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

अप्रिल २०२६ मा राण्डलले वायर फ्रडको अभियोगमा आफ्नो दोष स्वीकार गरेका थिए। अनुसन्धान अधिकारीहरूले हालसम्म उनको समूहबाट करिब १२ करोड ६५ लाख डलर बराबरको सम्पत्ति जफत गरिसकेका छन्।

जफत गरिएको सम्पत्तिमा ११ करोड १० लाख डलर बैंक खाता तथा सेयर, करिब १० लाख डलर बराबरका ९ वटा बिलासी गाडीहरू, करिब १ करोड ३५ लाख डलर मूल्यका ९ वटा महँगा घर तथा जग्गाहरू र १० लाख डलरभन्दा बढी मूल्यका खेलकुदका ऐतिहासिक वस्तुहरू रहेका छन्।

यो घटनाको अनुसन्धान एफबीआई, स्वास्थ्य तथा मानव सेवा विभाग  र क्यालिफोर्निया जस्टिस डिपार्टमेन्टले संयुक्त रूपमा गरेका थिए।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।