नेपाल बाढीपीडितका लागि न्यूयोर्कमा नेपाली लेखकहरूको पुस्तक बिक्री कार्यक्रम
प्रकाशित मिति : १९ भदौ २०८३, शुक्रबार
जेसिका रुसेलोको तस्बिर
न्यूयोर्क — नेपालमा त्रिशूली नदी आसपासको बाढीबाट प्रभावितहरूका लागि सहयोग जुटाउन न्यूयोर्कस्थित नेपाली लेखकहरूले सेप्टेम्बर १३ मा पुस्तक बिक्री कार्यक्रम आयोजना गर्ने भएका छन्।
कार्यक्रम साँझ ६ बजेदेखि ९ बजेसम्म ज्याक्सन हाइट्सस्थित हिमालयन याक रेस्टुरेन्ट, ७२-२० रुजभेल्ट एभेन्यूमा हुनेछ।
कार्यक्रमका आयोजकमध्येका एक पासाङ शेर्पाले लेखक, समुदायका सदस्य तथा पुस्तकप्रेमीहरूलाई पुस्तक दान गर्न वा पुस्तक खरिद गरेर कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्।
“कृपया पुस्तक दान गर्नुहोस्, पुस्तक किन्नुहोस् र यस अर्थपूर्ण अभियानको हिस्सा बन्नुहोस्,” शेर्पाले भने। “१० भन्दा बढी लेखकका करिब एक दर्जन पुस्तकहरू कार्यक्रममा सहभागी हुने निश्चित भइसकेको छ। जुनसुकै लेखकले नेपाली वा अंग्रेजी भाषाको पुस्तकसहित सहभागी हुन सक्नुहुन्छ। पुस्तक बिक्रीबाट प्राप्त सम्पूर्ण रकम विपद् राहतका लागि प्रदान गरिनेछ। तपाईं न्यूयोर्कमा बस्नुहुन्न भने पनि सहभागी हुन स्वागत छ।”
शेर्पाका अनुसार लेखक तथा समुदायका सदस्यहरूले अन्य लेखकका पुस्तकहरू पनि कार्यक्रममा बिक्रीका लागि उपलब्ध गराउन सक्नेछन्। पुस्तक बिक्रीमा सहभागी हुन इच्छुकहरूले आफूले बिक्री गर्न चाहेका पुस्तकहरूको नामसहित आयोजकलाई सम्पर्क गर्न आग्रह गरिएको छ।
कार्यक्रममा सहभागीहरूले लेखकहरूबाट प्रत्यक्ष पुस्तक खरिद गर्न, लेखकहरूसँग भेटघाट गर्न, नेपाली साहित्यिक कृतिहरूबारे जानकारी लिन र नेपाली समुदायका सदस्यहरूसँग जोडिन सक्ने आयोजकहरूले बताएका छन्। यसका साथै पुस्तक खरिदमार्फत बाढीपीडितका लागि राहत जुटाउन पनि सहयोग पुग्नेछ।
“हामी यस अभियानलाई सहयोग गर्न चाहन्छौं र भविष्यमा अन्य उद्देश्यका लागि पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन सक्छौं,” शेर्पाले भने।
आयोजकका अनुसार पुस्तक बिक्रीबाट प्राप्त सम्पूर्ण रकम नेपाल सरकारको विपद् राहत कोषमा प्रत्यक्ष दान गरिनेछ। कार्यक्रममा सहभागीहरूले थप आर्थिक सहयोग गर्न तथा राहत अभियानको प्रचारप्रसारमा समेत सहयोग गर्न सक्नेछन्।
यो कार्यक्रम न्यूयोर्कस्थित नेपाली लेखकहरूले खसोखास र नेपयोर्क को सहकार्यमा आयोजना गर्न लागेका हुन्।
थप जानकारीका लागि प्रतिक्षा थकालीलाई [email protected] वा पासाङ शेर्पालाई [email protected] मा सम्पर्क गर्न सकिन्छ।





