ह्वाङद्वारा नेपाललाई १० मिलियन डलर सहयोग, राहत कोषमा ६५ मिलियन डलरभन्दा बढी जम्मा
एनभिडियाका प्रमुख कार्यकारी अधिकृत जेन्सेन ह्वाङ। तस्बिर: रेसनहो, विकिमिडिया कमन्स
एनभिडियाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सेन ह्वाङले रसुवा जिल्लाको भोटेकोशी नदी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० मिलियन अमेरिकी डलर सहयोग गरेका छन्।
अर्थमन्त्री स्वर्णिम वाग्लेले बिहीबार सामाजिक सञ्जालमार्फत ह्वाङले कोषमा १० मिलियन डलर सहयोग गरेको जानकारी दिएका हुन्। वाग्लेले एनभिडियाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत ह्वाङप्रति आभार व्यक्त गर्दै उनको सहयोगपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भएको रकम ६५ मिलियन अमेरिकी डलरभन्दा बढी पुगेको बताए।
भिडियो सन्देशमार्फत वाग्लेले भने, “नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० मिलियन डलर सहयोग गर्नुभएकामा श्री जेन्सेन ह्वाङप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु।”
उनले ह्वाङको ठूलो सहयोगले अन्य व्यक्ति तथा संस्थालाई पनि मानवीय सेवाका लागि योगदान गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबार साँझ ६ बजे सार्वजनिक गरेको पछिल्लो स्थिति विवरण अनुसार बाढी तथा त्यससँग सम्बन्धित विपद्मा परी मृत्यु भएका १,२५९ जनाको शव फेला परिसकेको छ। अझै ५,०५३ जना बेपत्ता छन् भने ५,३८४ जना घाइते भएका छन्।
उद्धार टोलीले हालसम्म १२,०३८ जनाको उद्धार गरेको छ। तीमध्ये ३,९२६ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। हेलिकोप्टरबाट उद्धार गरिएकामध्ये ३,६५३ जना नेपाली नागरिक र २७३ जना विदेशी नागरिक रहेका छन्।
हालसम्म ७८५ वटा हवाई उद्धार तथा आवतजावतका उडान सञ्चालन भएका छन्। बिहीबार मात्रै ९५ वटा उडान भएका थिए।
घाइतेमध्ये ३०४ जनाले १८ वटा स्वास्थ्य संस्थामा उपचार पाएका छन्। तीमध्ये २०० जना उपचारपछि डिस्चार्ज भएका छन् भने ७० जना अझै उपचाररत छन्। ३० जनालाई थप उपचारका लागि अन्य अस्पतालमा पठाइएको छ भने उपचारका क्रममा चार जनाको मृत्यु भएको छ।
स्थिति विवरणअनुसार रसुवा, नुवाकोट र धादिङका ३८ वटा आश्रय केन्द्रमा अहिले ४,५२१ जना विस्थापितले आश्रय लिइरहेका छन्। तीमध्ये रसुवामा १,१४१, नुवाकोटमा ३,१८१ र धादिङमा १९९ जना रहेका छन्।
भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो मानवीय क्षति निम्त्याउनुका साथै घर, सम्पत्ति र जीविकोपार्जनका साधनमा व्यापक क्षति पुर्याएको थियो। वासिङ्टनस्थित नेपाली दूतावासले जारी गरेको अपिलअनुसार रसुवासहित नुवाकोट, धादिङ, गोरखा लगायतका जिल्लाहरू प्रभावित भएका छन्।
सरकारले खोज तथा उद्धार, राहत, सुरक्षित स्थानमा स्थानान्तरण, पुनर्स्थापना तथा आकस्मिक प्रतिकार्यलाई प्राथमिकतामा राखेको छ। तत्कालका मानवीय आवश्यकता पूरा गर्न तथा दीर्घकालीन पुनःस्थापनाका लागि सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय तथा अन्य संघसंस्थालाई परिचालन गरिएको छ।
विपद्बाट प्रभावित विभिन्न जलविद्युत् आयोजनास्थलमा नेपाली, भारतीय, चिनियाँ र दक्षिण कोरियाली उद्धार टोलीले संयुक्त रूपमा खोज तथा उद्धार अभियान जारी राखेका छन्। रसुवागढी, लाङटाङ, चिलिमे, माथिल्लो त्रिशूली–१, त्रिशूली–३ए, त्रिशूली–३बी र मेलुङखोलालगायतका आयोजनास्थलमा उद्धार कार्य भइरहेको छ।
साञ्जेन/लाङटाङ जलविद्युत् आयोजनामा उद्धार टोली सुरुङभित्र करिब २०० मिटर प्रवेश गरी दुईवटा शव वा शवका अवशेष फेला पारेको छ। माथिल्लो त्रिशूली–१ आयोजनामा उद्धार टोली अवरुद्ध पहुँच क्षेत्रसम्म पुगेर एउटा शव फेला पारेको छ।
विभिन्न जिल्लाका २१ वटा अस्पतालमा अझै पहिचान हुन नसकेका शव राखिएको स्थिति विवरणमा उल्लेख छ। पहिचान भएका ९५ वटा शव भने परिवारलाई बुझाइसकिएको छ।
सरकारले खोज, उद्धार तथा राहत कार्यका लागि २१,४०२ जना सुरक्षाकर्मी परिचालन गरेको छ। नेपाली सेनाले ३,२०६ जनालाई स्वास्थ्य उपचार उपलब्ध गराएको छ भने सशस्त्र प्रहरी बलले थप १,८७४ जनाको उपचार गरेको छ।
काठमाडौं उपत्यकाबाट प्रभावित क्षेत्रमा राहत सामग्री पठाउन ६९ वटा ट्रक, ३८ वटा बोलेरो गाडी र नौवटा हेलिकोप्टर उडान प्रयोग गरिएको छ। बिहीबार थप ११ वटा राहत सामग्री बोकेका ट्रक प्रभावित क्षेत्रमा पठाइएको छ। सशस्त्र प्रहरी बलले नुवाकोट र रसुवाभित्र राहत सामग्री ढुवानी गर्न १६३ वटा हवाई उडानसमेत सञ्चालन गरेको छ।
धादिङदेखि रसुवा सीमासम्मको बाढी प्रभावित अधिकांश क्षेत्रमा दूरसञ्चार सेवा पुनःस्थापित भएको छ। नेपाल टेलिकमले आफ्ना १२० मध्ये ११६ वटा मोबाइल टावर पुनः सञ्चालनमा ल्याएको छ भने एनसेलले ७८ मध्ये ७५ वटा टावर सञ्चालनमा ल्याएको छ।
नेपाल टेलिकमका तर्फबाट टिमुरे, चिलिमेखोला र त्रिशूली–३बी तथा एनसेलका तर्फबाट टिमुरे, त्रिशूली र उत्तरगया–१ क्षेत्रमा अझै मोबाइल सेवा अवरुद्ध छ।
सरकारले प्रभावित क्षेत्रमा थप न्यून पृथ्वी कक्षका भू–उपग्रहमा आधारित इन्टरनेट टर्मिनल जडान गर्ने तयारी पनि गरिरहेको छ।
सडक सम्पर्क भने अझै ठूलो चुनौती बनेको छ। पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–मलेखु खण्डको कृष्णभीरमा यातायात पूर्ण रूपमा अवरुद्ध छ। पहिरो गएको क्षेत्रमा डाँडा खनेर सडक निर्माण गर्ने काम अघि बढाइएको छ।

काठमाडौं जोड्ने वैकल्पिक मार्गका रूपमा आबुखैरेनी, धादिङबेसी र बेनिघाट हुँदै जाने तीनवटा मार्ग पहिचान गरिएको छ।
तादी नदीमाथिको ५५ मिटर लामो देवीघाट पुल बाढीले बगाएको छ। उक्त स्थानमा बेलिब्रिज निर्माणका लागि नेपाली सेनाले गजुरीबाट निर्माण सामग्री ढुवानी सुरु गरेको छ।
बिदुर–बेत्रावती सडकखण्डको १० किलोमिटरमध्ये ७.५ किलोमिटर सडक खुलाइएको छ। बाँकी २.५ किलोमिटर सडक भने बाढीले पूर्ण रूपमा बगाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नेपाल तथा विदेशमा रहेका व्यक्ति, संघसंस्था, व्यवसायी, निजी क्षेत्रका संस्था तथा शुभेच्छुकलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मा सहयोग गर्न अपिल गरेको छ।
सरकारका अनुसार संकलित रकम भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोज तथा उद्धार, राहत वितरण, सुरक्षित स्थानमा स्थानान्तरण तथा दीर्घकालीन पुनःस्थापनामा प्रयोग गरिनेछ।
अर्को छुट्टै अपिलमार्फत वासिङ्टनस्थित नेपाली दूतावासले अमेरिकामा रहेका नेपाली तथा आफ्नो समवर्ती मान्यता रहेका मेक्सिको, कोस्टारिका, बेलिज, एल साल्भाडोर, होन्डुरस, पानामा, ग्वाटेमाला र बहामासमा रहेका नेपालीलाई राहत अभियानमा सहयोग गर्न आग्रह गरेको छ।
दूतावासले नेपाली डायस्पोरा संघसंस्था, व्यवसायी, परोपकारी व्यक्ति तथा अमेरिका र अन्तर्राष्ट्रिय संघसंस्थालाई आफ्नो क्षमताअनुसार सहयोग गर्न पनि अनुरोध गरेको छ।
दानकर्तालाई आधिकारिक माध्यमबाट मात्र सहयोग गर्न तथा बैंक खाताको नाम, क्यूआर कोड र अन्य भुक्तानी विवरण यकिन गर्न दूतावासले आग्रह गरेको छ। यसबाट सहयोग सुरक्षित र पारदर्शी रूपमा व्यवस्थापन हुनुका साथै सही उद्देश्यमा पुग्न सुनिश्चित गर्न मद्दत पुग्ने दूतावासले जनाएको छ।





